Logo

१५ माघ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता प्राप्त गरेपछि रवि लामिछाने पार्टीको केन्द्रीय समितिको बैठकबाट आजै सभापति बन्ने भएको छन । उनले नागरिकता प्राप्त गरे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बोलाएका हुन ।

दिउँसो ३.३० बजे केन्द्रीय समिति बैठक बोलाइएको स्रोतले जानकारी दियो । सो बैठकमा रविलाई सभापति बनाउने प्रस्ताव पारित गर्ने स्रोतको भनाइ छ । शुक्रबार बसेको वैठकले डीपी अर्याललाई कार्यवाहक सभापति र पार्टी संसदीय दलको जिम्मेवारी दिएको थियो ।

उनी आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार लामिछानेको पुनः नागरिकता कायम भएको बताए । लामिछानेले २०५० सालमा लिएको नागरिकता नम्बर नै उल्लेख भएको नागरिकता प्रदान गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् । ‘उहाँको नयाँ नागरिकता जारी भएको हो, नागरिकता नम्बर भने पुरानै कायम छ ।’

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो ।

यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाएका थिए ।

त्यसैले उनी अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका थिए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायाले लामिछानेले नागरिकता ऐन २०६३ को दफा ११ र नागरिकता नियमावलीको नियम ११ बमोजिम कागजात पेश गरेपछि नागरिकता प्रदान गरिएको बताए ।


सम्बन्धित समाचार