Logo

१६ माघ, वीरगञ्ज । नेपालकै सबैभन्दा विवादित ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनले निर्माण सम्पन्न नभई पुल उदघाटन गर्न हतार ग¥यो । हुलाकी राजमार्गअन्तर्गत पर्ने तिलावे पुल निर्माणको जिम्मा पप्पु लुम्बिनी जेभीले पाएको थियो ।

पप्पु कन्स्ट्रक्सनका पूर्वसञ्चालक पर्सा क्षेत्र नम्बर ३ का तत्कालीन सांसद हरिनारायण रौनियारले निर्वाचनअघि निर्माण सम्पन्न नहुँदै तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई र वनमन्त्री प्रदीप यादवलाई बोलाएर पुल उदघाटन गराएका थिए ।

छोरी मधु रौनियारलाई पर्साको निर्वाचन क्षेत्र नम्बर ३ को (२) बाट निर्वाचन लडाउने तयारी गरेका हरिनारायणले निर्वाचनमा मतदातालाई काम देखाउनका लागि निर्माण सम्पन्न नहुँदै पुल उद्घाटन गर्न हतार गरे ।

निर्वाचनमा मतदातालाई प्रभावित पार्नका लागि बहालवाला मन्त्रीहरू पनि अधुरो पुल उदघाटनको साँछी बनेका थिए । अहिले निर्माण सम्पन्न नहुँदै उदघाटन गरिएको पुलमा फेरि सवारी आवतजावतमा समस्या हुने गरेको छ ।

पुलको दुवैतर्फको पहुँचमार्ग निर्माण नगरी निर्वाचनअघि पुल उद्घाटन गरिएपछि ठेकेदार कम्पनीले बाँकी निर्माणको काम अलपत्र छोडेपछि अहिले सदरमुकाम वीरगन्जबाट ग्रामीण क्षेत्रमा जाने सवारीसाधन र साइकल यात्रीहरूको चापका कारण जाम हुने गरेको छ ।जामका कारण घण्टौंसम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेको विन्दवासिनीका दिनेश थापाले बताए ।

पुलको पूर्व र पश्चिम दुवैतर्फ ३÷३ मिटर लम्बाइ र ११÷११ मिटर चौडाइको र यसबाहेक खोलाको पूर्वी किनारमा १ सय ५५ र पश्चिमी किनारमा १ सय ६५ मिटर लामो तटबन्ध निर्माण गरिँदै छ । पुलको सुरक्षाका लागि २० मिटर लामो र ७ मिटर चौडा एप्रोच साइड ग्याबलिनसमेत निर्माणाधीन छ । नदीमा आठवटा ह्युम पाइप पनि जडान गरिएको छ ।

उद्घाट्न गरिएको लामो समय बितिसक्दा पनि पुलमा बाँकी रहेको अधुरो काम सम्पन्न गर्न ठेकेदार कम्पनीले तदारुकता नदेखाउँदा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जले दुवै कम्पनीलाई कारबाहीमा लैजाने चेतावनी दिएपछि अहिले काम सुरु गरेको छ ।

काम अधुरो राखेर पप्पु लुम्बिनी जेभी दवै कम्पनी मौन बसेपछि दुवैलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएपछि लुम्बिनी काम सम्पन्न गर्न तयार भएको छ ।पप्पु कन्स्ट्रक्सनले भने निर्वाचन अघि पुल निर्माण नहुँदै तामझामका साथ पुल उद्घाटनमा सक्रियता देखाएर पुल उदघाटनपछि भने मौन बसेको थियो । पप्पु कन्स्ट्रक्सनले पहिला काम गर्छु भनेर पछि काम नगरेपछि लुम्बिनीले अधुरो काम सम्पन्न गर्न सुरु गरेको हो ।


सम्बन्धित समाचार