Logo

१७ माघ,काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अहिले बसिरहेको छ ।

पेरिसडाँडास्थित पार्टी कार्यालयमा सोमबारदेखि सुरु भएको बैठकमा मंगलबार पनि प्रधानमन्त्री एवम् अध्यक्ष पुष्पकमल दाहालसहित पार्टीका पदाधिकारीहरु सहभागी छन् ।

बैठकमा सरकार सञ्चालन र गठबन्धन, गृह मन्त्रालयका विषयमा देखिएको अन्योलता र राष्ट्रपतिको निर्वाचनको विषयमा छलफल भइरहेको छ । सत्ता गठबन्धनमा गृहमन्त्रालय र राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर मतभेद बढ्दो छ ।

सर्वोच्च अदालतले तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकता अमान्य रहेको फैसला गरेपछि उनी पदमुक्त भएका थिए । त्यसयता गृहमन्त्रालय प्रधानमन्त्री दाहाल आफैँले सम्हालेका छन् ।

तर नागरिकता पुनर्प्राप्ति गरिसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले पार्टीबाट समेत निर्णय गराएर पुनः आफैँले मन्त्रालय पाउनुपर्ने दाबी गरिरहेका छन् ।मंगलबार बिहान मात्रै लामिछानेले प्रधानमन्त्री दाहाललाई भेटेर गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएर फर्किएका छन् ।

अहिले बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालले त्यही विषयमा पार्टीभित्र परामर्श लिइरहेका छन् ।लामिछानेलाई पुनः गृहमन्त्री बनाउने वा नबनाउने भन्ने विषयमा माओवादीभित्रै मतभेद छ । नेकपा एमालेले भने पूर्वसहमतिअनुसार अघि बढ्नुपर्ने भनेर प्रधानमन्त्री दाहाललाई दबाब दिइरहेको छ ।


सम्बन्धित समाचार