Logo

१८ माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले पिपरा लिङ्क रोडलाई महात्मा गान्धी (एमजी) पथ नामाकरण गरेर भोली गर्ने भनिएको उद्घाटन कार्यक्रम स्थगित भएको छ । गान्धीको नामाकरण राख्ने विषयमा स्थानीय स्तरमा विरोध भएपछि भारतीय राजदुत नआउने भएकोले कार्यक्रम स्थगित गरिएको हो ।

स्थानीय जनताको अभिमत विरुद्ध भारत सरकार जान .नसक्ने भन्दै उक्त कार्यक्रममा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तव नआउने भएपछि वीरगञ्ज महानगरपालिकाले भोली गर्ने भनिएको उद्घाटन कार्यक्रम स्थगित गरेको हो ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पिपराको ऐतिहासिक र धार्मिक महत्वलाई समाप्त पार्ने उदेश्यले महात्मा गान्धीको नाउँबाट नामाकरण गर्न खोजिएको भन्दै स्थानीय युवाहरुले सडकमा आएर विरोध प्रर्दशन गरेका थिए ।

महानगरपालिकाले पिपरा लिङ्क रोडको नाउँ हटाए महात्मागान्धी (एमजी) रोड नामाकरणगरी मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव र नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवबाट उदघाट्न गर्न कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथिको रुपमा निम्तो गरेको थियो ।

नेकपा एमालेका केन्द्रीय सदस्य अरविन्द सिंहले सामाजिक सञ्जाल फेसबुकमा वीरगन्ज पिपराको आफ्नै ऐतिहासिक, सांस्कृतिक र मौलिक पहिचानलाई नै संकटमा पार्ने गरि पिपरा लिंक रोडको नाम महात्मा गान्धी रोडको नाममा नामाकरण गर्ने षड्यन्त्रको अगुवाइ वीरगन्ज महानगरपालिकाले गर्नु खेदजनक र निन्दनीय भएको उल्लेख गरेका छन ।

उनले महात्मा गान्धी शान्तिपूर्ण अहिंसात्मक आन्दोलनका पर्याय हुन् भन्ने कुरामा कहिँ कसैको विमति नहोला तर दक्षिणी छिमेकीको चाकरी, दलाली गरेर २–४ करोडको विकास निर्माणका प्रोजेक्ट पाइहाल्ने लोभले पिपराको ऐतिहासिक र सांस्कृतिक पहिचान मेटाउने कुरामा सहमत हुन सकिदैन भनेका छन ।

पर्सामा क्रियाशिल सम्पूर्ण राजनीतिकदलहरुले समेत वीरगञ्जको पहिचान मेटाउनेगरी स्थानीय सरकारबाट हुने जुनसुकै हरकतको कडा प्रतिवाद गर्ने जनाएका छन । प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा भएको सर्वदलिय बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जसपा, लोसपा, जनमत लगायतका राजनीतिक दलहरुले समेत वीरगञ्ज महानगरपालिकाको कदमको विरोध जनाएको नेकपा (एस) पर्साका अध्यक्ष बालगोपाल थापाले बताए ।


सम्बन्धित समाचार