Logo

२१ माघ,काठमाडौं । आज विश्व क्यान्सर दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । ‘क्यान्सर सचेतनाको आवाजका लागि एकताबद्ध बनौँ’ भन्ने मूल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेक वर्ष फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार निको नहुने खोकी लागिरहने, स्वर धोद्रो हुने, स्तन वा शरीरमा गिर्खाहरु आउने, शरीरको कुनै ठाउँबाट रगत बग्ने, निको नहुने घाउ हुने, कालो कोठीहरु आउने, अपच हुने, दिशा सामान्य नहुने लक्षण देखिएमा क्यान्सरको शंका गर्न सकिन्छ ।नसर्ने रोग भए पनि क्यान्सर रोग विश्वव्यापी चुनौती बनेको छ ।

तर, समयमै पहिचान र उपचार हुनसकेमा धेरै हदसम्म क्यान्सर रोकथाम गर्न सकिन्छ ।

नेपालमा क्यान्सर रोगका कारण वार्षिक १५ हजारको मृत्यु भइरहेको र ४० हजार नयाँ बिरामी थपिने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ । नेपालमा हाल करिव १ लाख बढी क्यान्सर रोगी रहेको अनुमान गरिन्छ ।

चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका अनुसार नेपालमा हुने क्यान्सरमध्ये फोक्सोको १३ प्रतिशत, पाठेघरको मुखको १० प्रतिशत, स्तन क्यान्सर ७ प्रतिशत, आमाशयको ६ प्रतिशत रहेको छ । महिलामा हुने क्यान्सरमध्ये १८ प्रतिशतमा पाठेघर, १५ प्रतिशतमा स्तन र १० प्रतिशतमा फोक्सोको क्यान्सर हुने गरेको छ ।

क्यान्सर रोगको कारण यहि हो भन्न नसकेपनि अस्वस्थकर खानपिन, रहनसहन तथा वातारणीय प्रभाव प्रमुख मानिन्छ । करिब १० प्रतिशत क्यान्सरका उमेर, लिङ्ग, बंशानुगत कारण लगायत छन् । सुर्ती वा सुर्तीबाट बनेका पदार्थहरू जस्तै चुरोट, बिँडी, तमाखु, खैनी, सुर्तीको सेवनले मुख, श्वासनली, फोक्सो, आमाशय, गर्भाशय, मूत्रनली, मिर्गौलालगायत शरीरका अन्य अङ्गको क्यान्सर हुन्छ ।

मादकपदार्थको सेवनले मुख, अन्ननली, पेट, आन्द्रा, स्तन, कलेजोका साथै अन्य अङ्गको क्यान्सर हुनसक्छ । अस्वस्थकर खानपिनले करिब ३५ प्रतिशत क्यान्सर हुने सम्भावना रहन्छ । यस्तै विकिरण अत्यधिक सौर्य विकिरणका साथै एक्स–रे, सिटिस्क्यानजस्ता उपकरणबाट निस्कने विकिरणको प्रभावले रगतका साथै अन्य अङ्गको क्यान्सर हुनसक्ने चिकित्सकहरु बताउँछन् ।


सम्बन्धित समाचार