Logo

२२ माघ, वीरगञ्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिपरा लिंक रोडको नामाकरणको विषय थप विवादित बन्दै गएको छ । स्थानीय मौलिकतालाई मास्ने उद्देश्यले कुनै स्वार्थ समूहले सडकको नाम ‘महात्मा गान्धी’ नाम राख्न लागेको भन्दै विरोध भईरहेको छ । आज पनि स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

वीरगन्ज महानगरपालिकाले अस्ती १९ गते बिहीबार माहात्मा गान्धी मार्ग नामाकरणको उदघाटन गर्ने तयारी गरेको थियो । सडकको नामाकरणको चौतर्फी विरोध भएपछि महानगरपालिकाले तत्कालका लागि उदघाटन कार्यक्रम स्थगित गरेको थियो । त्यसपछि हिजो विकासमा अवरोध गर्न खोजेको भन्दै वीरगञ्ज महानगरपालिका वडा नम्वर १४ पिपराका अर्को पक्षले प्रदर्शन गरेका थिए ।

विकासको काममा अवरोध गर्न पाइँदैन, आम जनतालाई भ्रमित गर्न पाइँदैन लगायतका नारा लगाउँदै ठूलो पिपराबाट निस्केको प्रदर्शन चिनीमिल आवास क्षेत्र अगाडी आएर कोणसभामा परिणत भएको थियो । ‘माहात्मा गान्धी’ सडकको नामाकरण गर्ने निर्णय सच्याउन माग गर्दै आज फेरी स्थानीयवासीले प्रदर्शन गरेका हुन ।

पिपरा युवा विकास समाजका अध्यक्ष अनिल पटेलको नेतृत्वमा स्थानीयहरुले आज सडक नामाकरणको तयारीका लागि लेखिएको शीलालेख अगाडि प्रदर्शन गरेका हुन् । दुवैपक्षको विरोध प्रदर्शनले पिपरा लिंक रोड क्षेत्र अशान्त बनेपछि त्यस क्षेत्रका स्थानीयलाई भने चिन्ता बढेको छ । शान्तिपूर्ण रुपमा जीवन यापन गरिरकेका स्थानीयलाई नामाकरणको नाममा महानगरपालिकाका मेयर राजेशमान सिंहले अनावश्यक मुद्दा बनाएर अशान्ति मच्चाएको स्थानीयले बताएका छन् ।

पछिल्लो समयमा समाजका प्रतिष्ठित व्यक्तिहरु र सरकारी अधिकारीहरुको बसोवासले समेत सुधार हुदै गएको उक्त सडक क्षेत्रमा फेरी महानगरपालिकाले विकासको नाममा मौलिकतालाई प्रहार गरेर भारतीय विस्तारवाद नीतिलाई सहयोग पुग्ने गरी नामाकरण गर्न खोजेको भन्दै बुद्धिजीविहरुले चिन्ता व्यक्त गरेका छन् ।

वीरगन्ज महानगरपालिकाले तात्कालिन नगर प्रमुख विजय सरावगीको पालामा नै पिप्रा लिंक रोड नामाकरण गरी उदघाटन समेत गरिसकेको सडक पुनः नामाकरण नगर्न जिल्लाका सात राजनीतिक दलहरुले समेत संयुक्त रुपमा विज्ञप्ती जारी गरिसकेको अवस्थामा फेरी महानगरपालिकाले आफ्नो निर्णय कार्यान्वयन गर्नका समर्थन रहेको देखाउनका लागि व्यक्तिहरुलाई प्रदर्शन गर्न लगाएर शान्ति क्षेत्रलाई अशान्त बनाउन खोजेको आरोप स्थानीयले लगाएका छन् ।

वीरगञ्जम महानगरपालिकाका मेयर राजेशमान सिंहले चिनी मिल आवास क्षेत्र भित्र रहेको पशुपति मन्दिर र पोखरी सौन्र्दयको लागि भारतीय दुतावासको सहयोग आउने आश्वासन दिदै एशियाली विकास बैकको सहयोगमा बनेको परियोजनामा भारतीय दुतावासलाई प्रयोग खुशीपर्ने उदेश्यले महात्मा गान्धी नामाकरण गर्न खोजेको आरोप स्थानीयले लगाएका छन् ।

नेपाल सरकारको स्वामित्वमा रहेको चिनीमिल आवास क्षेत्र भित्रको जमिनमा पार्क बनाउने योजना सहितको डिपिआर वीरगञ्ज महानगरपालिकाले बनाएको छ । संघीय सरकारसँग कुनै सहमती नलिई गैरकानुनी रुपमा काम गर्न खोजेको आरोप स्थनीय बुद्धिजीवीको छ ।

स्थानीय समाजवादी प्रमोद पटेलले बाबु बाजेको ऐतिहास नाउँ मेटन नदिने बताए । उनले जर्वजस्ती भारतीय दलालहरुले भारतीय दुवावासलाई उचालेर हाम्रो स्थनीय र ऐतिहासिक नाम मेटाउन खोजेको आरोप लगाए ।

वीरगञ्ज महानगरपालिका वडा नं. १४ का नेकपा एकिकृत समाजवादीका अध्यक्ष मदन प्रसाद कुर्मीले पिपराका जनता विकाश विरोधी नभएको तर विकासका नाउँमा बाबु बाजेको ऐतिहासिक पहिचान संकटमा पार्ने काममा हाम्रो सहमती नहुने बताए । केही व्यक्तिहरुले भारतीय दुतावासबाट पैसा खाएर ऐतिहासिक ठाउँको नाम मेटाउन खोजेको आरोप लगाए ।


सम्बन्धित समाचार