Logo

२३ माघ, वीरगञ्ज। पर्साको भेडाहा खोलाका ठेकेदारको पार्टी खाएर वीरगंजबाट बडनिहार फर्किने क्रममा सवारी दुर्घटनामा परी बडनिहार सब डिभिजन वन कार्यालयका वन अधिकृतसहित पाँचजना घाइते भएका छन् ।

ठेकेदारको पार्टीमा मदिरा पिएर कारमा बडनिहार फर्किने क्रममा परवानीपुरमा कार पल्टिंदा उनीहरू घाइते भएका हुन् । घाइते हुनेमा सर्लाही घर भएका बडनिहार सबडिभिजनका अधिकृत अनिल महतो, पर्सागढी–४ घर भएका सोही कार्यालयका कमान्डर (सुबेदार) प्रदीप तिमिल्सिना, पर्सागढी–३ घर भएका अर्का जमदार सूर्य चौधरी, पर्सागढी–४ बस्ने ठेकेदार नजीकका व्यक्ति सुमन श्रेष्ठ, सोही स्थानका सोम घले सहित पाँचजना रहेका छन् ।

भेडाहा खोलाको ठेक्का चालू आवको लागि अञ्जनी कन्स्ट्रक्शन, कलैया–२६ ले ७२ लाखमा सकार गरेर गत माघ ५ गतेदेखि खोलाबाट उत्खनन समेत शुरू गरिसकेको छ । उक्त ठेकेदार कम्पनीका मुख्य सञ्चालक बारा, कलैयाका राजु साह हुन् । अन्य तीनजना साझेदार सञ्चालक छन् । श्रेष्ठ र घले तिनै राजु साह निकटका व्यक्ति भएको स्रोतले बताएको छ ।

खोलाको उत्खनन सूर्य उदाएपछि शुरू गर्ने र अस्ताएपछि बन्द गर्नुपर्ने नियम छ । तर सो खोलामा राति ९ बजेसम्म पनि उत्खनन हुन्छ । सोही क्रममा बडनिहार सबडिभिजनका वनकर्मीहरूले ठेकेदारलाई नजरानाको लागि केही दिनदेखि थ्रेट गरेका थिए । त्यसैको सेटिड्ढको लागि तीनजना वन कर्मचारीको टोली ठेकेदारको गाडीमा बसेर पार्टी खान र नजराना बुझ्न वीरगंज आएको थियो ।

पार्टी खाएर बडनिहार फिर्ता हुने क्रममा पाँचजना चढेको किया ब्रान्डको सेल्टस कार परवानीपुर प्रहरी चौकीअ गाडि तीव्र गतिका कारण अनियन्त्रित भई पल्टेको थियो । प्रहरी चौकी परवानीपुरले बताए अनुसार उक्त गाडीको नम्बर प्रदेश–३–०१–२४ च ९७५९ रहेको छ । गाडी पल्टिएपछि उक्त गाडीको अगाडि र पछाडिका नम्बर प्लेट खोलेर हटाइएको थियो ।

घटना ढाकछोप गर्न परवानीपुर प्रहरीले समेत सघाएको जनाइएको छ । गाडीधनीले नम्बर सार्वजनिक भएर प्रतिष्ठामा आँच आउने भएकोले आफैंले खोलेको परवानीपुर प्रहरीले जनाएको छ । घाइते भएकामध्ये तीनजनाको मेडिसिटी वयोधा अस्पताल, गण्डकमा उपचार भइरहेको छ भने कमान्डर तिमिल्सिना र जमदार चौधरी सामान्य घाइते भएका छन् ।

उनीहरू कारको पछाडि सिटमा बसेका कारण चोटपटक कम लागेको प्रहरीले बताएको छ । पछाडि सिटमा बस्ने घले, कारचालक सुमन श्रेष्ठ र चालकको छेउको सिटमा बस्ने वन अधिकृत महतो गम्भीर घाइते भएका कारण अस्पताल भर्ना भएका हुन् । चालक श्रेष्ठको अवस्था गम्भीर रहेको जनाएको छ ।


सम्बन्धित समाचार