Logo

२३ माघ, वीरगञ्ज । २३माघ, वीरगञ्ज। वीरगन्जलाई पर्यटकीय शहर बनाई पर्यटनको विकास प्रवद्र्धन गर्नका लागि राज्य र नागरिको व्यवहारमा परिवर्तन आउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

पर्यटक प्रहरी र होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जले संयुक्त रुपमा आयोजना गरेको ‘पर्यटन प्रवद्र्धन र पर्यटन सुरक्षामा सरोकारवालाहरुको भूमिका’ विषयक अन्तकृया कार्यक्रममा सहभागी वक्ताहरुले पर्यटन विकासमा पर्यटक सुरक्षाको भूमिका नै महत्वपूर्ण हुने भएकोले पर्यटकसँग गरिने व्यवहारमा परिवर्तन नआएसम्म पर्यटको सुरक्षा नहुने र पर्यटनको विकास पनि हुन नसक्ने औल्याएका थिए ।

कार्यक्रममा बोल्दै वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले वीरगन्जलाई पर्यटकीय शहर बनाउन महानगर लागि परेको बताउनुभयो । उहाँले भारतीय पर्यटकलाई आकर्षण हुनेगरी महानगरले काम गरिरहेको जानकारी दिदै त्यसमा सबैले साथ दिन आह्वान समेत गरे ।

वीरगञ्ज भारतीय पर्यटकमा नै निर्भर रहेकोले भारतीय पर्यटक बढी भित्र्याउन कै लागि महानगरमा निर्वाचित भएपछि सवारी कर खारेज गरेको बताउनुभयो । भारतीय सवारी सँग लिने गरिएको कर हटाउँदा महानगरको वार्षिक ६ करोड आम्दानी गुमेको भएपनि भारतीय पर्यटकको आगमनले पर्यटन क्षेत्रसँग सम्वद्ध व्यवसायीको आम्दानी हुने र रोजगारीको सृजना गर्न ठूलो मद्दत पुग्ने बताउनुभयो ।

वीरगन्जका होटलहरु भारतीय पर्यटक मै निर्भर हुनुपर्ने भएकोले यहाँका होटल तथा पर्यटन व्यवासायीहरुले पर्यटकको सुरक्षाको विषयमा संवेदनशील हुनुपर्ने र पाहुनासँग गरिने व्यवहारमा प्रहरी प्रशासन र स्थानीले पनि सुधार ल्याउनुपर्ने बताउनुभयो ।

महानगरले माइस्थान मन्दिर सौन्दर्यकरण गरेर धार्मिक पर्यटनको मार्ग खुलाउन खोजेको भन्दै उहाँले अब १५० वर्ष भन्दा बढी पुरानो नृसिंह पिपरा मठको पुननिर्माणमा आफूहरु लागि परेको पनि बताए । आउँदो चैत्र सम्ममा वीरगञ्जको मुहार फेर्ने गरी काम गरिरहेको भन्दै त्यसका लागि सबैको साथको आवश्यकता रहेको बताउनुभयो ।

वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिल पटवारी (अग्रवाल) ले भारतीय पर्यटकहरु नेपाल आउने भएपनि दुईचार हजार रुपैंया लिएर नेपालमा खर्च गर्न आउँदा समेत सीमा नाकामा प्रहरीले धरपकड गर्दा पर्यटक आउन नचाहेको बताउनुभयो ।

पछिल्लो समयमा नेपाल भारतको म्यारिज डेस्टिनेशनको रुपमा पनि विस्तार हुदै गएकोले वीरगन्जलाई भारतीयहरुको म्यारिज डेस्टिनेशनको रुपमा स्थापित गराउन यहाँ पूर्वाधार संरचनाहरुको साथसाथै सेवा सुविधाहरुको पनि गुणस्तर राम्रो हुनुपर्नेमा जोड दिनुभयो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले स्थानीय शान्ति सुरक्षाको व्यावस्थाका लागि प्रतिवद्ध रहेको बताउदै पर्यटकीय गन्तव्यको विकास गर्नका लागि पर्यटन क्षेत्रमा आवद्ध व्यावसायीहरुसँग सहकार्य र समन्वय गर्न तयार रहेको बताउनुभयो । राज्यले निर्धारण गरेका मापदण्ड र कार्यविधिहरुलाई प्रभावकारी कार्यान्वयन गराउन स्थानीय सरकार, नागरिक समाज र सुरक्षा प्रशासनको समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहानले पर्यटन प्रवद्र्धन र विकासमा राज्यको ध्यान जान नसकेको बताउनुभयो । उहाँले पर्यटक आउनका लागि सुरक्षाको वातावरण महत्वपूर्ण भएपनि सुरक्षा निकायबाट नै प्रवेशद्वारमा चार ठाउँमा चेकजाँच गर्दा पर्यटकहरु आउन हिच्किचाउने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछानेले पर्यटकीय गन्तव्यको विकास गर्न पूर्वाधार विकास र पर्यटकलाई गर्ने व्यवहारमा भरपर्ने बताउनुभयो । होटल तथा पर्यटन व्यवासायी संघ वीरगन्जका अध्यक्ष तथा होटल व्यावसायी महासंघ नेपालका केन्द्रीय सचिव हरि पन्तले वीरगन्जमा पर्यटन व्यावसायको सम्भाव्यता भएर पनि यसलाई विकास र प्रवद्र्धनमा अपुग रहेको बताउनुभयो ।

उहाँले वीरगन्जमा पर्यटकीय गन्तव्यहरुको विकास सम्वद्र्धनमा ध्यान नपुग्दा वाह्य पर्यटकहरुलाई आकर्षित गर्न नसकिएको भन्दै यसमा स्थानीय, प्रदेश र संघ तीन तहको सरकारको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।

पन्तको अध्यक्षतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया, पर्साका प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकी लगायत होटल तथा पर्यटन व्यावसायी संघका पदाधिकारी तथा कार्यसमिति सदस्य तथा विभिन्न संघ संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति रहेका थिए ।


सम्बन्धित समाचार