Logo

२४ माघ, वीरगञ्ज । मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले माओवादीलाई सरकारमा ल्याएर तेस्रो पटक मन्त्री मण्डल विस्तार गर्नुभएको छ । उहाँले माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अंसारीलाई नियुक्त गर्नुभएको हो ।

नियुक्तिको पत्र प्रदेश प्रमुख कार्यालयमा पठाइएको जानकारी सरकारले दिएको माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिनुभयो । आज दिउँसो १ बजे प्रदेश प्रमुख कार्यालयमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीको पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएको छ ।

योसँगै अब मधेश सरकारले पूर्णता पाएको छ । यसअघि मुख्यमन्त्री यादवले पुस २९ गते तीनजना मन्त्री र माघ २० गते ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गर्नुभएको थियो । अब मधेश सरकारमा मुख्यमन्त्री, १० मन्त्री र चार राज्यमन्त्रीसहित मन्त्रीमण्डलको संख्या १५ सदस्य पुगेको छ ।

सत्ताको नेतृत्व गरेको जसपाले अर्थ, सामाजिक विकास र खाने पानी तथा ऊर्जा विकास मन्त्रालयसहित तीन मन्त्रालय पाइसकेका छन् । यस्तै नेकपा एमालेले भौतिक पूर्वाधार विकास मन्त्रालय, गृह तथा सञ्चार मन्त्रालय, कानून न्याय तथा प्रदेश मामिला र महिला तथा बालबालिका, युवा तथा खेलकुद मन्त्रालयसहित चार मन्त्राय पाएको छ ।

जनमतले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र शिक्षा विज्ञान प्रविधि तथा वाणिज्य मन्त्रयसहित दुई मन्त्रालय पाएको छ भने माओवादी केन्द्रले उद्योग वन तथा पर्यटन मन्त्रालय पाएका छन् ।

 


सम्बन्धित समाचार