
२५ माघ,वीरगञ्ज । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाल टी–२० क्रिकेट लिगमा स्पट फिक्सिङमा संलग्न एक जनालाई पक्राउ गरेको छ।
पर्सा, वीरगन्जबाट एक जनालाई पक्राउ गरेको सिआइबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए।पक्राउ पर्ने नितेश गुप्ता हुन्। एसएसपी आचार्यका अनुसार उनले स्पट फिक्सिङका लागि प्रस्ताव राखेका थिए।
गुप्ताको भूमिकामाथि थप अनुसन्धान भइरहेको एसएसपी आचार्यले बताए। उनले आरिफ शेखलाई स्पट फिक्सिङ गर्न प्रस्ताव राखेका हुन्। शेखले भने उक्त प्रस्तावलाई एन्टी करप्सन युनिट र नेपाल क्रिकेट संघ (क्यान) लाई रिपोर्ट गरेका थिए। उनले नियमानुसार रिपोर्ट गरेका हुन्।फिक्सिङको प्रस्ताव आएपछि उक्त प्रस्तावलाई अस्वीकार गरी युनिट र क्यानलाई जानकारी गराउनुपर्ने नियम छ। शेख अलराउन्डर हुन्।
उनले लिगमा पोखरा एभेन्जर्सबाट खेलेका थिए।स्पट फिक्सिङ गर्ने दुई जना खेलाडीलाई प्रहरीले पक्राउ गरिसकेको छ। उनीहरू पूर्व खेलाडी महबुब आलम र मोहम्मद आदिल आलम हुन्। प्रहरीले यस लिगमा स्पट फिक्सिङ गराउनेमा १० जना संलग्न रहेको जनाएको थियो।
उनीहरूमध्ये ४ जना नेपाली र ६ जना विदेशी छन्। अरू आरोपितको पहिचान सिआइबीले खुलाइसकेको छैन। आदिलले दुई खेलमा स्पट फिक्सिङ गरेको आरोप छ। आदिल जनकपुर रोयल्सबाट खेलेका थिए। पुस १२ गते भएको काठमाडौं नाइट्सविरूद्ध ८ औं खेलमा आदिलले स्पट फिक्सिङ गरेको पाइएको सिआइबीले बताएको थियो।उनले उक्त खेलको १२ औं ओभरको पहिलो बलमा नो–बल फालेका थिए।
त्यस्तै फेरि अर्को बलमा उनले वाइड बल फालेको उक्त खेलको भिडिओमा देखिएको छ।त्यस्तै पुस १४ गते फार वेस्ट युनाइटेडविरूद्ध भएको १२ औं खेलमा पनि स्पट फिक्सिङ भएको सिआइबीले जनाएको छ। उक्त खेलको छैठौं ओभरको पहिलो खेलमा उनले नो–बल फालेका छन्।
त्यस्तै अघिल्लो खेलमा जस्तै अर्को बलमा उनले वाइड–बल फालेका थिए। पूर्व खेलाडी रहेका महबुब आलमले बिचौलियाको भूमिका खेलेको देखिएको छ। उनले खेलाडीहरूलाई विभिन्न माध्यमबाट सम्पर्क गरी स्पट फिक्सिङका लागि प्रस्ताव गरेको पाइएको हो।उनीहरूले स्पट फिक्सिङ गराउँदा एक पटकको ६ देखि १० लाख रूपैयाँसम्मको प्रस्ताव गरेको खुलेको छ।