Logo

२५ माघ,वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच राष्ट्रिपति निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल भइरहेको छ।

निर्वाचन आयोगले फागुन २५ गते राट्रपतिको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरिसकेको छ। जसअनुसार फागुन १३ गते मनोनयन दर्ता गर्नुपर्छ। राष्ट्रपतिको चुनाव नजिकिँदै गर्दा राष्ट्रपतिका विषयमा दलहरुबीच भिन्न मत सार्वजनिक हुँदै आएको छ।पुस १० मा एमालेलगायत दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड र एमालेबीच राष्ट्रपति र सभामुख एमालेले लिने सहमति भएको छ।

जस अनुसार सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन्।तर राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीले निर्णय गरेपछि एमाले झस्किएको छ। प्रचण्ड र ओलीबीच जारी भेटवार्तामा राष्ट्रपतिको उम्मेदवार र रास्वपा सरकारबाट बाहिरिएपछिको परिस्थितिका विषयमा छलफल भइरहेको हो।

पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएपछि झस्किएको एमाले कांग्रेसले पनि राष्ट्रपति पदमा उम्मेदवारी दिने र आफ्नै उम्मेदवार विजयी हुने दाबी गरेपछि माओवादीप्रति सशंकित बन्दै गएको छ।

यसैबीच रास्वपा सरकारबाट बाहिरिएपछि रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्ने विषयमा पनि प्रधानमन्त्री प्रचण्डले ओलीसँग छलफल गरेका छन्। सर्वोच्च अदालतले रास्वपा अध्यक्ष रवि लामिछानेको नागरिकता खारेज गरिदिएपछि रास्वपा सरकारबाट बाहिरिएको छ।


सम्बन्धित समाचार