Logo

२८माघ,सेढवा । पर्साका ग्रामीण भेगका महिलाहरु पूर्ण रुपमा स्वास्थ्य सेवाबाट वञ्चित रहेका छन् । ग्रामीण क्षेत्रका महिलाले स्वास्थ्य सेवा अन्तर्गत सुरक्षित गर्भपतन सेवा पाउनबाट वञ्चित रहेका हुन् ।

गर्भधारण भएको १२ हप्तासम्म गर्भपतन गर्ने कानूनी व्यवस्था रहेको भएपनि पर्साको ग्रामीण क्षेत्रमा उक्त सेवा उपलब्ध नरहेको स्थानीयले गुनासो गरेका छन् । जसका कारण सुरक्षित गर्भपतन गर्न वीरगञ्जस्थित मेरी स्टोप्समा निशुल्क सेवा लिन जानुपरेको उनीहरुको भनाई छ ।

गर्भपतन सेवाको लाागि वीरगञ्जको विभिन्न निजी अस्पतालमा शुल्क तिरेर उनीहरुले सेवा लिने गरेका छन् । पर्साको ठोरी, जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, छिपहरमाई गाउँपालिकामा दर्जनौ स्वास्थ्य संस्थाहरु रहेपनि उक्त सस्थांहरुमा सुरक्षित गर्भपतन सेवा उपलब्ध नभएको सम्बन्धित पालिकाका स्वास्थ्य शाखा प्रमुखले जानकारी दिएका छन् ।

तालिम प्राप्त स्वास्थ्यकर्मीहरुको अभावमा पालिकामा उक्त सेवा संचालन गर्न नसकिएको स्वास्थ्यकर्मीहरुको भनाई छ । करिब पाचँ बर्ष अगाडी सो सेवा संचालनमा रहेको भएतापनि पछि कर्मचारी सरुवा भएर गएसँगै सेवा बन्द भएको जिराभवानी गाउँपालिका–२ सेढवा स्वास्थ्य चौकीका ईन्चार्ज ज्ञानकिशोर प्रसादले बताउनुभयो ।

गाँउपालिकाको दुई वटा स्वास्थ्य संस्थामा उक्त सेवा संचालनमा रहेको सखुवाप्रसौनी गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारले जानकारी दिनुभयो ।

वडा नम्बर २ पचँगावा स्वास्थ्य चौकीमा मासिक ३ जना र वडा नम्बर ५ स्वास्थ्य चौकी महुवनमा मासिक ५ जनाले सुरक्षित गर्भपतन गराउने गरेको शाखा प्रमुख रौनियारले बताउनुभयो । पर्साका स्थानीय तहहरुमा नै सुरक्षित गर्भपतन सेवा उपल्बध नभएकाले ग्रामीण भेगका महिला सिमावर्ती भारतीय बजार इनर्वा बजार पुगेर सेवा लिन जाँदा कतिपय महिलाको मृत्यु समेत हुने गरेको छ ।


सम्बन्धित समाचार