१ फागुन, वीरगञ्ज ।आज माओवादीले सशस्त्र युद्धको सुरुआत गरेको दिन । आजको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाइँदैछ । सरकारले ‘जनयुद्ध दिवस’ को अवसर पारेर आज फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
यसअघि वागमती र कर्णाली प्रदेश तथा नेकपा माओवादीले नेतृत्व गरेका स्थानीय तहहरुमा सार्वजनिक विदा दिने निर्णय गरिसकेका छन् ।
शान्ति प्रक्रियापछि माओवादीले पटक(पटक सरकारको नेतृत्व गरे पनि आज पहिलो पटक सरकारले नै जनयुद्ध दिवस मनाउन लागेको हो ।
२०५२ साल फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए।
यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक विदा दिएको थियो ।