Logo

१ फागुन, ठोरी पर्सा । ठोरी गाउँपालिका–३ शिकारीवासमा बिद्युतीकरणको लागि आइतवारदेखि सर्भे शुरू भएको छ । नेपाल विद्युत् प्राधिकरण पोखरिया वितरण केन्द्रका प्रमुख जगरनाथ झा र चितवन राष्ट्रिय निकुञ्ज, कसरा अन्तर्गतको दीपा रेन्ज पोस्टका रेन्जर योगेश ढकाल सम्मिलित टोलीले आज शिकारीवासको अनुगमन गरेको छ ।

ठोरीदेखि शिकारीवाससम्मको जङ्गल क्षेत्रमा पर्ने रूख कटान गर्नुपर्ने, पोल गाड्नुपर्नेलगायतको प्रारम्भिक अनुसन्धान गरिएको छ । पोखरिया वितरण केन्द्रका प्रमुख झाले निकुञ्ज अन्तर्गत परेकोले यसबारेमा कति रूख कटान गर्ने, कतिवटा पोल गाड्ने जस्ता कार्यहरूको निकुञ्जले सर्भे गरेर पठाउने र अनुमति पाएपछि रूख कटान गरी विद्युतीकरणको कार्य अगाडि बढ्ने बताए ।

शिकारीवासमा अहिलेसम्म विद्युत् जडान हुन सकेको छैन । यसअघि ठोरी गाउँपालिकाले विद्यूतको विकल्पमा सोलार प्यानल जडान प्रक्रिया अगाडि बढाएको छ । माघ १ गते सोलार प्यानलको उद्घाटन मिति तय भएपनि चितवन राष्ट्रिय निकुञ्जले अनुमति नलिएको भनेर प्यानल जडानमा रोक लगाएको कारण अहिलेसम्म त्यहाँ सोलार प्यानलको उद्घाटन हुन सकेको छैन ।

वडाध्यक्ष शम्भु खड्काले निकुञ्जसँग यसबारेमा अनुमति लिने प्रक्रिया अगाडि बढाएको र अनुमति पाएपछि सोलार प्यानल सञ्चालनमा आउने बताए । उनले शिकारीवासमा ६० घरपरिवार रहेको र उनीहरूको लागि गापाले सोलार प्यानल जडान गर्ने अभियान शुरू गरेको बताए ।


सम्बन्धित समाचार