Logo

तस्विर : विशाल पटेल

३ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले रक्सी पसल सञ्चालन गर्न सार्वजनिक जग्गा व्यक्तिको नाउँमा भाडामा दिएपछि ब्रह्रचोकका स्थानीयवासीले विरोध जनाएका छन् ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको ठाडो आदेशमा महानगरपालिकाले नगरविकासको स्वामित्वमा रहेको सार्वजनिक कल्र्भडको ३६० वर्गफिट जमिन वीरगञ्ज १२ का व्यवसायी दिवेन्द्र गुप्ताको नाउँमा भाडामा दिने निर्णय गरेको छ ।

वीरगञ्जको ब्रह्रचोकका स्थानीयवासीले जल चढाउने र पूजापाठ गर्दै आएको पिपलको रुखलाई हटाएर उक्त स्थानमा गुप्ता सेकुवा कर्नरलाई भाडामा उपयोग गर्न दिएपछि स्थानीयवासी मेयर राजेशमान सिंह प्रति आक्रोशित भएका छन् ।

वीरगञ्ज महानगरपालिकाले २०७९ पुष १२ गते दिवेन्द्र गुप्ताको नाउँमा मासिक ५ हजार ४ सय भाडा महानगरपालिकालाई बुझाउने शर्तमा अनन्तकाल सम्मको लागि उक्त जमिन उपभोग गर्न दिएपछि स्थानीयबासीले सार्जजनिक जमिनमा रक्सी पसल सञ्चालन गर्न नदिन जिल्ला प्रशासन कार्यालय पर्सा र महानगरपालिकाको वडा नं. १२ को कार्यालयमा निवेदन दिएका थिए ।

वीरगञ्ज महानगरपालिका वडा नं. १२ को वडा कार्यालयले गत पुष १९ गते दिवेन्द्र गुप्ताको नाउँमा एक पत्र लेखि सार्वजनिक जमिनमा भइरहेको निर्माण रोकी साबुत प्रमाण सहित तीन दिन भित्र वडा कार्यालयमा हाजीर हुन भनेको थियो । वडा कार्यालयलाई समेत जानकारी समेत नदिएर महानगरपालिकाले सार्वजनिक जमिन व्यक्तिलाई व्यापार व्यवसाय गर्न दिएको भन्दै वडा अध्यक्ष सुरेश गुप्ताले महानगरका कर्मचारीसँग मौखिक स्पष्टिकरण लिएका थिए ।

वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले सार्वजनिक जमिनमा रहेका अतिक्रमण हटाएको प्रचारवाजी गर्दै हिडेपनि भित्री रुपमा महानगरपालिकाको स्वामित्वमा नभएको सार्वजनिक जमिन समेत रक्सी पसल संचालनका लागि व्यक्तिलाई अनन्तकाल सम्म प्रयोग गर्न दिने नीतिले मेयर सिंहको बाहिर देखाउने एउटा र भित्र अर्कै प्रवृत्ति देखेपछि स्थानीयवासीले गत पुष १९ गते जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएका थिए ।

वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरीको कुनै सुनुवाई नभएपछि स्थानीयवासी अख्तियार अनुसन्धान आयोगमा उजुरी दिने तयारीमा रहेका छन् । ब्रह्रचोकको नामारण भएको पिपलको बोट हटाएर स्थानीय पहिचान मेटाउन खोजेको भन्दै स्थानीयवासी मेयर राजेशमान सिंहको प्रवृत्तिको भण्डाफोर गर्ने भएका छन ।

स्थानीयवासीले बसौ देखि पुजापाठ गर्दै आएको पवित्र धार्मिक स्थलमा रहेको पिपलको रुख हटाएर रक्सी पसल संचालन गर्न दिएको भन्दै ब्रह्रचोकका वासीन्दा एक महिन देखि विभिन्न निकायमा उजुरी दिदा समेत कुनै सुनुवाई नभएको बताएका छन् । उनीहरुले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई समेत भेटेर सार्वजनिक जग्गा व्यक्तिको नाउँमा नदिन भनेका थिए ।

 

नेपाल सरकारले सार्वजनिक जग्गा प्रयोग सम्वन्धमा छुट्टै कार्यविधि र मापदण्ड बनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले सार्वजनिक प्रकृतिको जग्गा प्रयोग गर्न उपलब्ध गराउने सम्वन्धि मापदण्ड २०७७ को दफा ३ मा सार्वजनिक जग्गा सरकारी विद्यालय, अस्पताल, स्वास्थ्य केन्द्र, सरकारी कार्यालय वा काम काजको लागी मात्र प्रयोग गर्न सकिने व्यवस्था गरेको छ ।

मापदण्डले स्थानीय तह भित्र रहेका सार्वजनिक जग्गाको संरक्षण र सम्वद्र्धनको जिम्मेवारी मात्र स्थानीय तहलाई तोकेको छ । वडा कार्यालय भित्र रहेको सार्वजनिक जग्गाको संरक्षण गर्ने पहिलो दायित्व वडा कार्यालयको हुने छ भनिएको छ तर वीरगञ्ज महानगरपालिकाले वडा कार्यालयसँग कुनै समन्वय नगरि सार्वजनिक जग्गामा रक्सी व्यवसाय गर्न भाडामा दिएको वडा अध्यक्ष सुरेश गुप्ताले बताए ।

वडा कार्यालयलाई कुनै जानकारी नदिई मेयर राजेशमान सिंहले व्यक्तिलाई सिधै अनन्तकाल सम्मको लागि सार्वजनिक जग्गा प्रयोग गर्न दिएको प्रति आफ्नो असहमती रहेको वडा अध्यक्ष गुप्ताले बताए । उनले स्थानीयवासीको पवित्र पुजा पाठ गर्ने ठाउँलाई हटाएर रक्सी संचालन गर्न दिनु आफैमा अपराध भएको बताए ।

सार्वजनिक सम्पति त स्थानीयवासीको अधिकतम हितमा प्रयोग गर्ने उदेश्यले त्यसको संरक्षण र प्रवद्र्धन गरिनु पर्नेमा वडावासीसँग कुनै सरोकार नराखी एउटा व्यक्तिलाई रक्सी व्यवसाय संचालनको लागि भाडामा दिनु दुखद कुरा भएकाे वडा अध्यक्ष गुप्ताले बताए । म स्थानीय जनताको पक्षमा छु सार्वजनिक सम्पति कुनै व्यक्तिलाई हकभोग गर्न दिने बिषय ऐन कानुनको विरुद्ध छ यसमा वडा कार्यालयको तर्फबाट सार्वजनिक हितमा प्रयोग गर्ने गरी पहल हुन्छ गुप्ताले भने ।


सम्बन्धित समाचार