Logo

४ फागुन, वीरगञ्ज । पर्साबाट प्रहरीले माघ महिनामा झण्डै ५ करोड मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ । प्रहरीले ४ करोड ७४ लाख ९६ हजार ५ सय २२ मूल्य बराबरको सामान बरामद गरेको हो ।

प्रहरीका अनुसार उक्त मूल्य बराबरको खाद्यान्न, ईलेक्ट्रोनिक्स सामान, लत्ताकपडा, सवारी साधन तथा अन्य विभिन्न किसिमका सामानहरु नेपालतर्फ ल्याउदैँ गरेको भेटिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साले दिएको तथ्याङक अनुसार सबैभन्दा बढि सवारी साधन १ करोड ४१ लाख ४ हजार मूल्य भारतबाट नेपालतर्फ भन्सार छली ल्याउदैँ गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

त्यस्तै विविध किसिमका कपडा २ करोड ६६ लाख ५७ हजार ८२९, ईलेक्ट्रोनिक्स सामान २० लाख ५६ हजार ७६४, खाद्यान्न ४६ हजार ७ सय ७९ मुल्य बराबरको बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक गिरीले यसरी वीरगञ्ज भन्सार नाकाबाट बरामद भएको सामान भन्सार कार्यालय तथा राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाउने जानकारी दिए । उनका अनुसार बरामद सामानहरुमध्ये ४ करोड ३९ लाख ५७ हजार ६ सय १२ मूल्य बराबरको सामान राजश्व अनुसन्धान कार्यालय पथलैया बारा बुझाईएको छ ।

त्यस्तै ३ लाख ८६ हजार ७ सय ३० रुपैँया बराबरको सामान भने वीरगञ्ज भन्सार कार्यालयमा थप अनुसन्धानका लागि बुझाएको उहाँको भनाई छ । उता भन्सार छलीका सामान, लत्ताकपडा तथा सवारी साधनहरु भन्सार ऐन अनुसार मुद्दा गर्ने र अदालतबाट आदेश पाएलगत्तै उक्त सामानहरु लिलाम गरिने वीरगञ्ज भन्सार कार्यालयका सुचना अधिकारी रामचन्द्र शर्मा ढकालले बताए ।

जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेर राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको मालसामान माथि के कार्वाही भयो भन्ने तथ्यांक प्रहरीसँग नभएको प्रहरी नायव उपरिक्षक गिरीले बताए । बिल विजक शंकास्पद देखिएपछि पक्राउ गरेर सम्वन्धित निकायमा बुझाउने काम प्रहरीले गर्छ प्रहरी नायव उपरिक्षक गिरीले भने ।

राजश्व अनुसन्धान कार्यालय पथलैया र वीरगञ्ज भंसार कार्यालयले प्रहरीले पक्राउ गरेका सामान माथि कसरी अनुसन्धान भइरहेको छ भन्ने सम्मको जानकारी ती निकायबाट लिनु पर्ने प्रहरी नायव उपरिक्षक गिरीले बताए ।


सम्बन्धित समाचार