Logo

५ फागुन, वीरगञ्ज । क्यानडा र कम्बोडिया पठाइदिन्छु भन्दै ३२ लाख नगद ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट २ जनालाई पक्राउ गरेको छ ।

क्यानाडा पठाइदिन्छु भन्दै नगद १९ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा सर्लाही लालबन्दी नगरपालिका वडा नं. ३ घर भई काठमाडौं महानगरपालिका वडा नं. ३२ नरेफाँट बस्ने बर्ष २९ का लक्ष्मण थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

थापाले पीडितलाई वैदेशिक रोजगारीको लागि क्यानडा जानको लागि २३ लाख रुपैयाँ लाग्छ र त्यहाँ पुगेपछि मासिक ३ लाख रुपैयाँ हुने काममा लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रूपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बानेश्वरबाट उनलाई पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

त्यसैगरी कम्बोडिया पठाइदिन्छु भन्दै नगद १२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दैलेख भगवतीमाई गाउँपालिका वडा नं. २ घर भई काठमाडौं नयाँ बसपार्क बस्ने बर्ष २३ का तोपेन्द्र सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि कम्बोडियामा मासिक १ लाख ३० हजार रूपैयाँ तलबमा क्यासिनोको सेक्युरिटी गार्डको काम लगाई दिने प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी उक्त रुपैयाँ ठगी गरेको उजुरीको आधारमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका वडा नंं २६ गोंगबु बिजिमहलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार