Logo

५ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडाको कार्यालयमा परेका उजुरी मध्ये ४५ वटा उजुरी माथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

२०७९ साउन देखि माघ मसान्त सम्म १०९ वटा उजुरी परेकोमा ६४ वटा उजुरी तामेलीमा राखीएको आयोगले ४५ वटा उजुरीका बिषयमा वीरगञ्ज महानगरपालिकासँग सोधपुछ गरिरहेको आयोगका सूचना अधिकारी बिष्णु सापकोटाले बताए ।

वीरगञ्ज महानगरपालिकाले गत कार्तिकमा निर्वाचनको मिति घोषणा भएपछि कर्मचारी भर्ना गरेको बिषयमा परेको उजुरीका बारेमा छानविन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका हेटौडा कार्यालयका प्रमुख नरहरि घिमिरेले बताए । उनले यो बिषयमा सवैभन्दा धेरै उजुरी परेकोले आयोगले गम्भिर रुपमा छानविन गरिरहेको रेसखवरलाई जानकारी दिए ।

कर्मचारी भर्नाको बिषयमा महानगरपालिकासँग आवश्यक कागजपत्र मागिएको र महानगरपालिकाका कर्मचारीसँग समेत प्रारम्भिक वयान लिइएको आयोगले जनाएको छ । आयोगमा परेका ६४ वटा उजुरीलाई भने तामेलीमा राखीएको उनले बताए ।

वीरगञ्ज महानगरपालिका बिरुद्ध सवैभन्दा बढी आर्थिक अनियमितता र गैर कानुनी रुपमा ठेक्का पट्टा लगाइएको बिषयमा उजुरी पर्ने गरेको आयोगले जनाएको छ । दिनहुँजसो उजुरी पर्ने गरेका छन तर आयोगमा जनशक्ति कम भएकोले छानविनको प्रकृया ढिलो हुने गरेको प्रमुख घिमिरेले बताए ।
अख्तियार अनुसन्धान आयोगको हेटौडा कार्यालयले मधेश प्रदेशका तीन जिल्ला पर्सा, बारा र रौटहट तथा बागमती प्रदेशका मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक र रामेछाप गरी ११ जिल्ला भित्र परेका उजुरी हेर्नुपर्ने प्रमुख घिमिरेले जानकारी दिए ।

आयोगमा चालु आर्थिक बर्षको साउन देखि माघ मसान्त सम्म ५ सय २९ वटा उजुरी परेको छ । आयोगले लिखित रुपमा, हुलाक मार्फत, इमेल, भाइवर, टेलिफोन, सामाजिक सञ्जाल, सञ्चारमाध्यम र अन्य माध्यमबाट उजुरी लिने गरेको आयोगका सूचना अधिकारी बिष्णु प्रसाद सापकोटाले बताए ।

भ्रष्ट्राचार र आर्थिक अनियमिता सम्वन्धी धेरै उजुरी वीरगञ्ज महानगरपालिका विरुद्ध पर्ने गरेको भएपनि हाल सम्म आयोगले महानगरपालिका विरुद्ध कुनै कार्वाही गरेको छैन । आयोगमा परेका उजुरी माथिको छानविन प्रकृयामा ढिलाई भएपछि महानगरपालिकाले आफू विरुद्ध परेको उजुरीलाई मिलाउने गरी डकुमेन्ट तयारी पार्ने भएकोले आयोगले अधिकांश उजुरी तामेलीमा राख्ने गरेको बताइएको छ


सम्बन्धित समाचार