Logo

७ फागुन,वीरगञ्ज । पछिल्लो समय महोत्तरीमा हात्तीपाइलेको प्रकोप बढ्दै गएपछि घर(घरमा नै प्रतिरोधात्मक औषधी खुवाइने व्यवस्था गरिएको छ । ११ फाल्गुन देखि २४ फाल्गुनसम्म स्वास्थ्यकर्मीहरू घर–घरमा नै पुगेर ३ वर्ष देखी माथिका सवैजनालाई उचाइ, वजनअनुसार औषधि खुवाइने जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

उचेरिया ब्याङक्रफ्टी नामक परजीवी र क्युलेक्स जातको लामखुट्टेको टोकाइले सङ्क्रमण हुने यो रोगको कारण महोत्तरी उच्च जोखिममा छ । गत वर्षको एक तथ्याङ्क अनुसार १ हजार ५ सय जनामा सङ्क्रमण देखा परेको थियो । स्वास्थ्यकर्मीहरूको अनुसार हात्तीपाइले रोगको इपिडेमियोलोजी समयमा गर्न सकिएन भने यसले भयावह रूप लिन सक्छ ।

हात्तीपाइले रोगको धेरैजसो सङ्क्रमण लक्षण विनाको हुन्छ भने पछि गएर अङ्ग सुनिने पनि गर्दछ । कतिपयमा अण्डकोष, खुट्टा, हात, स्तन र शरीरका अन्य अङ्गहरू सुनिने स्वास्थ्यकर्मीहरूको भनाई छ ।

यो सुनिएपछि उपचार समेत कमै हुने पनि स्वास्थ्यकर्मीहरूले बताएका छन् । विश्व कै तथ्याङ्कलाई हेर्दा सन २००० सम्म १२ करोड मानिसहरू सङ्क्रमित तथा ४ करोड मानिसहरू अङ्गभङ्ग भएका थिए ।

प्रतिरोधात्मक औषधीको सेवन गर्न थालेपछि हाल सङ्क्रमणको सङ्ख्या ७४ प्रतिशतले घटेर ५ करोड १४ लाख मात्र सङ्क्रमित छन् ।


सम्बन्धित समाचार