Logo

७ फागुन,वीरगञ्ज । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपालमा प्रत्येक दिन २० वटा भन्दा बढी मानव अधिकार उल्लंघनका घटना भइरहेको तथ्यांक सार्वजनिक गरेको छ ।

इन्सेकले आज सार्वजनिक गरेको सन् २०२२ को मानवअधिकार वर्ष पुस्तक अनुसार, नेपालमा हरेक दिन २० वटा मानव अधिकार उल्लंघनका घटना भइरहेका छन् । इन्सेकले सन् २०२२ मा नेपालमा कुल ७ हजार ३ सय ७६ वटा मानव अधिकार उल्लंघनका घटना भएको विवरण सार्वजनिक गरेको हो ।

इन्सेकका अनुसार, यो एक वर्षमा ३ सय २३ को हत्या भएको छ भने २ जना बेपत्ता पारिएका छन् । ३५ जना अपहरणमा परेको, ८१ जना गिरफ्तार भएको र ४४८ जनामाथि कुटपिट भएको इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । कारागारमा ५३ जनाको मृत्यु भएको छ । इन्सेकले राजनीतिक प्रकृतिका मानव अधिकारका घटना केही कमी भएपछि सामाजिक र जनजीविकाको पाटोमा मुलुकको अवस्था सुधार हुन नसकेको औल्याएको छ ।

वार्षिक प्रतिवेदन अनुसार, मानव अधिकार उल्लंघन, ज्यादती र अपराधका घटना भइरहेका छन् । बढ्दो सडक दुर्घटना, आत्महत्या र विपद्का कारण बर्सेनि हजारौं नागरिकले ज्यान गुमाउने गरेको भन्दै इन्सेकले वार्षिक प्रतिवेदनमा उल्लेख छ । नागरिकप्रतिको दायित्वमा सचेत रही सरकारका आँखा यस्ता घटनालाई नियन्त्रण गर्नेतर्फ पनि पर्नु जरुरी रहेको प्रतिवेदनमा भनिएको छ ।

कारागारहरु सुधारगृहमा रुपान्तरण हुन नसकेको, विवादास्पद रुपमा अध्यादेश र विधेयक ल्याउने काम भएको, प्रदेशस्तरमा संरचना बन्न नसकेको, शिक्षा, स्वास्थ्य र मानव अधिकार कागजमा सीमित रहेको भन्दै इन्सेकले दलहरु नागरिकको जनजिविकाको सवालमा क्रियाशिल हुन नसकेको औल्याएको छ ।


सम्बन्धित समाचार