Logo

७ फागुन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले एन.आइ.सी एसिया बैंकलाई ११ हजार रुपैयाँ जरिवाना गरेको छ । कार्यालयबाट निस्केको फोहोर सडकमा फालेपछि बैंकलाई ११ हजार रुपैयाँ जरिवाना गरिएको सरसफाई व्यवस्थापन महाशाखाले जनाएको छ ।

झण्डै डेढ महिनादेखि महानगरले जथाभावि सडक तथा सडकको पेटीमा फोहोर गर्नेलाई जरिवाना गर्दै आईरहेको छ । अहिलेसम्म भएका जरिवाना मध्ये यो सबैभन्दा बढी जरिवाना हो ।

फोहोर संकलनका लागि पठाईएको गाडीमा फोहोर नहालेर जथाभावि सडकमा फालेको पाईएपछि ११ हजार जरिवाना गरिएको सरसफाई शाखाका अधिकृत सर्फुदिन मियाँले जानकारी दिए । बैंकले तेस्रो पटक यस्तो वदमाशी गरेको उनको भनाई छ । पहिलो पटक चेतावनी दिएर छोडिएको थियो भने दोश्रो पटक ५ हजार रुपैयाँ जरिवाना तिराईएको थियो ।

महानगरले साइरन सहितको ट्याक्टर फोहोर संकलनका लागि पठाउने गरेको छ । तरपनि विभिन्न संघ संस्था, व्यापारी तथा व्यक्तिहरुले सडकपेटी, किनार तथा खाली जग्गामा फोहोर फालिदिने गरेका छन् । जसले गर्दा वीरगञ्ज फोहोरी सहरको रुपमा बदनाम भईरहेको छ । जिम्मेवार संघसंस्था तथा व्यक्तिले जथाभावि फोहोर गरिदिँदा फोहोरमैला व्यवस्थापन चुनौतिपूर्ण बनेको वीरगञ्ज महानगरपालिका स्वस्छ, सफा सुन्दर हराभरा अभियानका संयोजक जय प्रकाश खेतानले जानकारी दिए ।

जथाभावि फोहोर फालेको पाईएमा ५ सय, १ हजार, ५ हजारदेखि ११ हजार रुपैयाँसम्म जरिवाना गर्ने गरिएको महानगरपालिकाले जनाएको छ । ०७५ सालमा ल्याईएको वीरगञ्ज महानगरपालिकाको फोहोर मैला व्यवस्थापन ऐनले महानगरपालिकाले तोकी दिएको समय र स्थान बाहेक अन्यत्र फोहोरमैला निस्कासन गर्न निषेध गरेको छ ।

त्यस्तो कसुर गर्ने व्यक्तिलाई पहिलो पटक ५ हजार, दोस्रो पटक १० हजारसम्म र तेस्रो वा त्यो भन्दा बढी पटक अटेरी गरेको खण्डमा १५ हजारका दरले जरिवाना हुने उल्लेख छ । घर, कम्पाउन्ड वा परिसरको फोहोरमैला सडक वा अन्य सार्वजनिक स्थलमा जथामावि राख्न, फाल्न वा थुपार्न निषेध गरिएको छ । त्यसो गरेमा ५ हजारदेखि १५ हजार रुपैयाँ जरिवाना गर्न सक्ने व्यवस्था ऐनमा छ ।

 


सम्बन्धित समाचार