Logo

फाइल तस्बिर

८फागुन, वीरगञ्ज । राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ ।माओवादी केन्द्रका नेता मातृका यादवका अनुसार आज दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाइएको हो ।फागुन २५ गते हुने राष्ट्रपति चुनावका विषयमा बैठकमा छलफल गरिने भएको छ ।

जसका लागि सरकारमा रहेका र सरकार बाहिर रहेका दल आकांक्षी रहेका छन्।सरकार बाहिर रहेको दल नेपाली कांग्रेस र सरकारमा सहभागी दल नेकपा एमालेका उम्मेदवार आकांक्षी रहिरहँदा आफूले कसलाई समर्थन गर्ने भन्ने विषयमा छलफल गरी टुङ्गो लगाउन माओवादी आज बैठक बस्न लागेको हो।

आइतबार साँझ कांग्रेसमा शीर्ष नेताहरुले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए। कांग्रेसले राष्ट्रपतिमा सहयोग माग्दा प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने जवाफ दिएका थिए। २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ।

फागुन १० गतेसम्म माओवादीलाई कांग्रेस उम्मेदवारको पक्षमा उभ्याउन कांग्रेस नेताहरूले प्रयास गरिरहेका छन्। पुस १० मा सात दलीय गठबन्धनबाट सरकार बन्दा राष्ट्रपति नेकपा एमालेले पाउने सहमति भएको थियो। तर पुस २६ मा कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि राष्ट्रपतिका विषयमा नयाँ बहस भइरहेको छ।

एमालेले पुस १० सहमति कार्यान्वयनका अडान लिएको छ भने माओवादी केन्द्रले राष्ट्रिय सहमति राष्ट्रपति चयन हुनुपर्नेमा जोड दिइरहेको छ। राष्ट्रपतिको विषयले सत्ता गठबन्धनमा ‘खटपट’ पैदा भएको छ।


सम्बन्धित समाचार