Logo

८फागुन,वीरगञ्ज । भूमिहिन दलित तथा सुकुम्बासीले जग्गा पाउनुपर्ने माग राख्दै वीरगञ्जमा प्रदर्शन गरेका छन् । चुरे तथा वन जंगल संरक्षण अभियान पर्साको आव्हानमा वीरगञ्जको छपकैयामा प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागीले भूमीहिन, गरिब र सुकुम्बासीलाई जग्गा र घर देउ, भूमीहिन र अव्यवस्थित बसोबासीहरुको समस्या सामधान गर लगायतका नारा लगाएका थिए ।

छपकैयाको पासवान टोलमा गरिएको प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै चुरे तथा वन जंगल संरक्षण अभियानका राष्ट्रिय सह–संयोजक रानी रायले सरकारले दलित भूमिहिन, सुकुम्बासीको पिडा नसुनेपछि प्रदर्शन गर्नुपरेको बताउनुभयो ।

मधेस प्रदेशका मुख्यमन्त्री र प्रदेस सभासदहरुलाई भेटेर भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित बसोबासीहरुको समस्या समाधानका लागि आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको उहाँको गुनासो छ ।

चुरे तथा वन जंगल संरक्षण अभियान पर्साका उपाध्यक्ष विजय कुमार पासवानले भुमिहिन सुकुम्बासी, भुमिहिन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुका लागि सरकारले जग्गाधनी प्रमाण पुर्जाका साथै गास, बास र कपासको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिनुभयो ।


सम्बन्धित समाचार