Logo

८फागुन,वीरगञ्ज । अम्लेखगञ्ज–रक्सौल रेल्वेको सयौँ बिगाहा जग्गा बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरुले अतिक्रमण गरेका छन् । अम्लेखगञ्जदेखि वीरगञ्जसम्मको ३९ किलोमिटर क्षेत्रको १ हजार ७ सय ४९ बिगाहा जग्गा दर्जनौं उद्योगले अतिक्रमण गरेर भोगचलन गरेका हुन् ।

रेल्वेको जग्गामा डाबर नेपाल बहुराष्ट्रिय कम्पनीदेखि स–साना उद्योगहरुले संरचना बनाएका छन् । केही उद्योगीले मालपोत र नापी कर्मचारीहरुसँगको मिलेमतोमा रेल्वेको जग्गा उद्योगको नाममा समेत कायम गरिसकेको पाईएको छ ।

जीतपुरसिमरा उपमहानगर वडा नं २३ का पूर्व वडाध्यक्ष अस्लम देवानले डाबर नेपाल बहुराष्ट्रिय कम्पनी, नारायणी लेदर, मल्लिका कोईला उद्योग, कन्सेफ्ट औषधि उद्योग, ज्योति ग्रुप्रले मात्रै सयौँ बिगाहा जग्गा अतिक्रमण गरेको बताउनुभयो । अम्लेखगञ्ज–रक्सौल रेलमार्गको लिक जीतपुर गढीमाई मन्दिरसम्म पूर्वपट्टी र जीतपुरदेखि पश्चिमतर्फ हुँदै गएको छ ।

साविक सिमराप्रिपा गाँउ पञ्चायतका तत्कालीन प्रधानपञ्च मुकुन्द बहादुर क्षेत्रीले रेल्वेको संरचना व्यक्ति र उद्योगको अतिक्रमणमा परेको गुनासो गर्नुभयो । अम्लेखगञ्जदेखि पूर्वपट्टी हुलास, अशोक स्टिल, कत्था मिल हुँदै जीतपुर गढीमाई मन्दिरदेखि पश्चिमपट्टी नारायणी लेदर, डाबर नेपाल, नारायणी रोलिङ मिल्स, नेशनल फर्मासिटिकल्स, गोदावरी आयल्स, नारायणी इन्साफट, राहुल आयल लगायतका दर्जनौँ उद्योगले रेल्वेको जग्गा अतिक्रमण गरेर भोगचलन गरेको तत्कालीन प्रधानपञ्च क्षेत्रीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार