Logo

१० फागुन,वीरगञ्ज । पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्सा जिल्लामा खेलकुदको विकासका लागि आफू गम्भीर रहेको बताएका छन् ।

पर्सालाई आर्थिक जिल्लासँगसँगै खेलकुदको केन्द्रका रुपमा विकसित गर्नुपर्ने बताउँदै पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद्) समेत रहेका यादवले यसका लागि आफूले सदन मार्फत आवाज उठाउने बताएका हुन् ।मंगलबार वीरगञ्जमा पर्सा क्रिकेट संघले आयोजना गरेको पर्सा क्रिकेट लिग २०७९ को फाइनल खेलको समापन समारोहमा प्रमुख अतिथिका रुपमा बोल्दै यादवले स्थानीय खेलाडीका प्रतिभा प्रस्फुटन गर्न यस्ता प्रतियोगिता आयोजनालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

उनले जिल्लामा खेलकुदको विकासका लागि थप पूर्वाधार निर्माण र खेलाडीहरुमा लगानी बढाउनुका निमित्त संघ, प्रदेश र स्थानीय सरकारले मिलेर काम गर्नुपर्ने बताए । उनले वीरगञ्ज महानगरपालिकाका मेयरले यसको अभिभावकत्व लिएर प्रदेश र संघ सरकारसँग समन्वय गर्नुपर्ने बताए ।

‘पर्सा जिल्लामा खेलकुदको गतिविधि बढाएर यसलाई खेलकुदको हब बनाउनु पर्छ । यो सम्भव पनि छ । तिनै तहको सरकारले मिलेर काम गर्नुपर्छ । मैले सदन मार्फत पनि यसको लागि आवाज उठाउँदै आएको छु र अगाडि पनि उठाउने नै छु,’ उनले भने ।प्रतियोगिताको विजेता र उपविजेता टिमलाई यादवले ट्रफी र मेडल प्रदान गरेका थिए ।

नारायणी रंगशालाको क्रिकेट मैदानमा भएको फाइनल खेलमा युनाइटेड क्रिकेट क्लब मुर्ली वीरगञ्जलाई ३ विकेटले हराउदै नेशनल इन्फोटेकले उपाधि जितेको छ ।टस जितेर पहिले व्याटिंग गरेको युनाइटेड क्रिकेट क्लब मुर्लीले पुरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ४६ रन बनाएको थियो ।

१ सय ४७ रनको लक्ष्य नेशनल इन्फोटेकले पुरा २० ओभर खेल्दै ७ विकेटको क्षतिमा पुरा गरेको हो ।वीरगञ्ज महानगरपालिकाको आर्थिक सहयोगमा पर्सा क्रिकेट संघले फागुन २ गतेदेखि आयोजना गरेको प्रतियोगितामा ८ वटा टिमले भाग लिएका थिए ।


सम्बन्धित समाचार