Logo

१० फागुन, वीरगञ्ज । वीरगन्ज महानगरपालिकाले वडा नम्वर ४ विर्तामा स्वीकृति बिना सन्चालनमा रहेका तीन वटा स्वास्थ्य संस्था सिल गरेको छ । महानगरद्वारा गठित स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नवीकरण समितिको नेतृत्वमा गएको अनुगमन टोलीले स्वीकृति नलिई सञ्चालनमा रहेका तीन वटा स्वास्थ्य संस्थामा शिलबन्दी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय, वीरगञ्ज महानगरपालिका र नेपाल प्रहरीका प्रतिनिधिको रोहबरमा तीनवटै स्वास्थ्य संस्थामा शिलबन्दी गरिएको थियो ।

 

वीरगञ्ज–४ विर्ता स्थित चित्रांश पोली हेल्थ क्लिनिक, उसैले सञ्चालन गरेको प्याथोलोजी ल्याब र श्रीगणेश डाइग्नोस्टिक सेन्टरलाई शिल गरिएको समितिका सदस्य जयप्रकाश महतोले जानकारी दिए ।

अनुमति नलिई सञ्चालन गर्नुको साथै प्याथोलोजी ल्याबमा म्याद गुज्रेका केमिकल तथा औषधी प्रयोग गरेर रिपोर्ट तयार गर्ने गरेको पाइएको दाबी उनको छ । महानगरपालिकाले स्वीकृति लिएर मात्रै संस्था सञ्चालन गर्न पटक पटक सूचना जारी गर्दा पनि अटेर गरेकाले कारबाही सुरु गरिएको उनले जानकारी दिए ।

तराई डाइग्नोस्टिक, शुभम क्लिनिक र वीरगञ्ज डेन्टल क्लिनिक एण्ड इम्प्लान्ट सेन्टर मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रितेश जयसवालले बताए । उनीहरुलाई तत्कालका लागि सेवा बन्द गरी मापदण्ड पूरा गरेर मात्रै सञ्चालनमा ल्याउन भनिएको उनको भनाइ छ ।

अनुगमन सुरु भएको जानकारी पाएलगत्तै अनुमति नलिई सञ्चालनमा रहेका क्लिनिक, डाइग्नोस्टिक सेन्टर तथा औषधी पसलका सञ्चालकले सटर बन्द गरेका थिए ।

प्याथोलोजी सेन्टरले नागरिकको स्वास्थ्यमा खेलवाड गरिरहेको र स्वास्थ्य संस्थाहरु दर्ता नै नगरी सञ्चालनमा रहेको जानकारी पाएपछि अनुगमन गर्न समिति गठन गरिएको मेयर राजेशमान सिंहले जानकारी दिए । जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा स्वास्थ्य संस्थाबाटै लापरवाही हुनु गम्भीर भएको उनको भनाइ छ ।


सम्बन्धित समाचार