Logo

११ फागुन, कलैया । बाराको कलैयामा दर्ता नै नभएको एउटा कलेजले विद्यार्थी भर्ना गरेर विद्यार्थीहरुलाई ठगेको रहस्य बाहिर आएको छ । गार्डेन सिटी कलेजले कक्षा संचालनको अनुमति नै नलिएर विद्यार्थीहरुलाई ठगेको रहस्य बाहिर आएको हो ।

कक्षा ११ मा कानुन र व्यवस्थापन संकायमा करिब ७० जना विद्यार्थीहरुलाई भर्ना गरेर कक्षा संचालन गर्दै आएको सो कलेजले कक्षा ११“को मार्कसिट कलैयाको कोअपरेटिभ ईङ्ग्लिश बोर्डिङ स्कुलको नाममा दिएपछी आफुहरु ठगिएको थाहा पाएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।

गार्डेन सिटी कलेजका संस्थापक लाल महम्मद अंसारीले आफू लगायत पाँच जना मिलेर कलेज संचालन गरि कोअपरेटिभ ईङ्गग्लिश बोर्डिङ स्कुलको कलेज संचालनको अनुमती लिएर दुईवटा संकायमा विद्यार्थी भर्ना लिएर कक्षा संचालन गरेको स्वीकार गर्नुभयो । शेयर सदस्यहरुबिच विवाद उत्पन्न भएर गार्डेन सिटी कलेज बन्द गर्ने अवस्था आएकाले गार्डेन सिटी कलेज कोअपरेटिभ ईङ्गग्लिश बोर्डिङ स्कुललाई बेचेको जानकारी दिनुभयो ।

कोअपरेटिभ ईङ्गग्लिश बोर्डिङ स्कुलका संस्थापक चन्द्रीका गुप्ताले आफ्नो बोर्डिङले गार्डेन सिटी कलेजलाई कक्षा संचालनको अनुमती भाडामा दिएको बताउनुभयो । विद्यार्थीहरुको गुनासा आएसँगै उक्त विषयमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानवीन समिती गठन गरेर अनुसन्धान अगाडि बढाएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार