Logo

१२ फागुन, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले चर्को स्वरमा डिजे बजाउने ५ जनालाई कारबाही गरेको छ । सार्वजनिक स्थलमा चर्को आवाजमा डिजे बजाएको आरोपमा उनीहरूलाई कारबाही गरिएको हो ।

विवाह तथा उत्सवको नाममा चर्को स्वरमा डिजे बजाउने क्रम बढ्दै गएपछि बारा प्रहरीले यसलाई रोक्न अभियान नै संचालन गरेको छ । जनस्तरबाट गुनासो आएपछि सार्वजनिक स्थानमा डिजे बजाउन रोक लगाईएको जिल्ला प्रहरी कार्यालय बाराको प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

डिजेले अस्पताल, विद्यालयमा अध्ययनरत विद्यार्थी लगायतमा समेत नकारात्मक सन्देश गई यसले ध्वनि प्रदूषण गर्ने र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर गर्ने भएकाले रोक्न लागिएको उहाँको भनाई छ । जिल्ला प्रहरी कार्यालय मातहतका सबै कार्यालय र युनिटलाई डिजे नियन्त्रणमा लिन अस्ती साँझ प्रहरी उपरिक्षक बोगटीले निर्देशन दिनुभएको थियो ।

उनीहरुलाई पहिलो पटक सम्झाई बुझाई गरेर छाडिएको बोगटीले बताउनुभयो । फेरि पनि पूनः डिजे बजाएको भेटिए कडा कारबाही गरिने उहाँले चेतावनी दिनुभएको छ । डिजेले मौलिक बाजाहरुलाई विस्थापित गर्दै गएकाले यसको संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

यता पर्सामा भने जथाभावि चर्को आवाजमा डिजे बजाउने गरिएको छ । विवाहको लगन हुँदा झनै यस्तो विकृति बढी देखिन्छ । चर्को आवाजमा डिजे बजाउँदा प्रहरी प्रशासन मुक दर्शक बनेको आरोप स्थानीयले लगाएका छन् । सामाजिक अभियन्ता प्रकाश थारुले डिजे आतंक सामाजिक अपराध भएको बताउनुभयो ।

अहिले उत्सवको नाममा चर्को आवाजमा डिजे बजाउने, हल्ला गर्नाले आफ्नो ३ महिनाको बच्चा समेत पटकपटक झस्किएको उहाँको गुनासो छ । सरोकारवाल पक्ष तथा सम्बन्धित निकाय समेत मुकदर्शक बनेको उहाँको आरोप छ । डिजे आतंकले बालबालिका, वृद्धवृद्धा एवम् दिर्घ रोगीहरु विशेष प्रभावित हुने उहाँको भनाई छ ।

यस्ता आतंकले समाजमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपले नकारात्मक असर पु¥याउने भएकाले यसलाई रोक्नु पर्नेमा उहाँले जोड दिनुभयो । तर पर्साका प्रहरी नायव उपरिक्षक दिपक गिरीले पर्सा जिल्लामा विवाह पार्टीमा १० बजेपछिको समय पछि सडकमा हल्ला गर्न नपाईने, रातीको समयमा सडकमा चर्को आवाजले डिजे बजाएको भेटे प्रहरी आफै गएर आवाज सानो बनाउन लगाउने गरेको बताउनुभयो । कारबाहीको रुपमा पक्राउ भने गर्ने नगरिएको उहाँले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार