Logo

१३ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिनुभएको छ ।राप्रपाको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा दिनुभएको हो ।

उहाँहरूले शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाउनुभएको छ ।आजै बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई लिएको समर्थन फिर्ता लिएसँगै उहाँहरूले राजीनामा दिनुभएको हो ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बैठकले गत पुस १० गते राष्ट्रियता, विकास, सुशासन र सेवाप्रवाहसँग सम्बन्धित विषयवस्तुमा केन्द्रित हुनेगरी समर्थन गरेपनि राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक परिस्थितिमा हठात परिवर्तन हुँदा विद्यमान अवस्थामा राप्रपा सरकारमा रहिरहनु अनुपयुक्त नहुने ठहरसहित सरकारबाट बाहिरिएको बताउनुभयो ।पार्टीले प्रदेश सरकारमा दिएको समर्थन फिर्ता लिनुका साथै प्रदेश सरकारबाट पनि बाहिरिने निर्णय गरेको छ ।


सम्बन्धित समाचार