१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसबाट रामचन्द्र पौडेलले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । आज दिउँसो नयाँ बानेश्वरमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
पौडेलको उम्मेदवारी दर्ताकाक्रममा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ८ राजनीतिक दलका नेताहरु सहभागी हुनुभएको थियो ।
पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोककुमार राई र अब्दुल खान तथा समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहनुभएको छ । कांग्रेसको बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
गएराति नेकपा माओवादी केन्द्रसहितको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति चुनावमा कांग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन् ।
यसअघि एमालेको तर्फबाट सुवाषचन्द्र नेम्वाङले उम्मेदवारी दिनुभएको थियो । फागुन २५ गते राष्ट्रपति चयनका लागि चुनाव हुँदैछ ।