Logo

१३ फागुन, वीरगञ्ज । पर्सा प्रहरीले विभिन्न अपराध गरेर फरार रहदै आएका अभियुक्त तथा अदालतबाट सजाय पाएर फरार रहदै आएका प्रतिबादीहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । प्रहरीले माघ महिनामा फरार अभियुक्त र प्रतिबादी पक्राउ अभियान नै चलाएर उनीहरुलाई पक्राउ गर्न थालेको हो ।

अभियान चलाइएपछि बितेको माघ महिनामा फरार अभियुक्त र प्रतिबादीहरुको पक्राउ सँख्यामा पनि बृद्धि भएको छ । पर्सा प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार गएको माघ महिनामा प्रहरीले विभिन्न किसिमका अपराधमा संलग्न भई फरार रहदै आएका १ सय ९१ जना अभियुक्तहरु र अदालतबाट सजाय पाएर फरार रहदै आएका १६ जना प्रतिबादीहरुलाई पक्राउ गरेको छ ।

जबकि पुस महिनामा ३५ जना फरार प्रतिबादी र ८ जना अभियुक्तहरुलाई मात्रै पक्राउ परेका थिए । माघ महिनामा पक्राउ परेका उनीहरुलाई १८ बर्ष १० महिना २० दिन कैद सजाय र ४ लाख १४ हजार २ सय ६८ रुपैया जरिवाना असुल उपर गरिएको पर्सा प्रहरीले जनाएको छ ।

माघ महिनामा अभियान नै चलाएर फरार रहेका अभियुक्त एवम् प्रतिबादीहरुलाई पक्राउ गरिएकोले उनीहरुको पक्राउ सङख्यामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी प्रवक्ता दिपक गिरीले जानकारी दिनुभयो । उहाँले फरार अभियुक्त र प्रतिबादी पक्राउ अभियान अहिले पनि जारी रहेको बताउनुभयो ।

 

 


सम्बन्धित समाचार