Logo

१६ फागुन,वीरगञ्ज । वीरगन्ज महानगरपालिकाले सिर्सिया नदीमा फोहोर गर्नेलाई कारबाही गरेको छ । उद्योगबाट निस्केको छाई सिधा सिर्सिया नदीमा फाल्ने ३ वटा ट्याक्टरलाई महानगरले आज नियन्त्रणमा लिएर कारबाही गरेको हो ।

वीरगन्ज महानगरपालिका–२१ स्थित सिर्सिया नदीमा फोहोर फालीरहेको अवस्थामा फेला पारी ३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरिएको बताईएको छ । प्र २–०३–००१ त ४८७, ना १८ त ६८८९ र ना ७ त ५३८९ नम्बरको ट्याक्टरलाई कारबाही गरिएको महानगरपालिकाले जनाएको छ ।

तीनै वटा ट्याक्टरलाई महानगरले आज नियन्त्रणमा लिएर बालमन्दिरमा राखेको र ट्याक्टरका चालकलाई पहिलो पटक १÷१ हजार रुपैया जरिबाना गरेर छाडिएको मेयर राजेशमान सिंहले जानकारी दिनुभयो । महानगरपालिकाले सिर्सिया नदी प्रदुषण नियन्त्रण अभियान चलाईरहेको अवस्थामा नदी प्रदुषण गर्ने जो कसैलाई पनि कारबाही गर्ने रणनीति अनुसार नदीमा फोहोर गर्नेलाई आजदेखि जरिबाना गर्न सुरु गरेको हो ।

नदी प्रदुषण नियन्त्रणका लागि महानगरले समिति नै बनाएर अनुगमनलाई समेत तिब्रता पारेको छ । नदी तटमा रहेका उद्योगले त्यहाँबाट निस्कने फोहोर जथाभावी फालिदिँदा सिर्सिया नदी प्रदुषित भएको छ । महानगरले उद्योगहरुलाई पनि कारबाही गर्ने तयारी अनुरुप मरियम लेदर सहित ५ वटा उद्योगलाई पत्र नै पठाएर चेतावनी समेत दिएको छ ।

वीरगन्ज पथलैया औद्योगिक कोरिडोरमा रहेका उद्योगकै कारण सिर्सिया नदी प्रदुषण हुँदै आएको छ । उद्योगबाट निस्केको फोहोर नदीमा ल्याएर फाल्ने ट्याक्टरलाई मंगलबार पहिलोपटक चेतावनी स्वरुप कारबाही गरिएको र आउँदा दिनमा फोहोर पानी वा वस्तु सोझै नदीमा मिसाउने उद्योगलाई पनि कारबाही गरिने मेयर सिंहले बताए ।

महानगरद्वारा गठित सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिको फागुन ३ गते बसेको बैठकले नदी प्रदुषण गर्ने उद्योगहरुलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

 


सम्बन्धित समाचार