Logo

१६ फागुन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जमिन अतिक्रमण गरेर बनाइएका भौतिक संरचनामाथि डोजर चलाएको छ । आदर्शनगरस्थित माइराम पोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचनामाथि महानगरले मंगलबार डोजर चलाएको हो । यो समाचार तयार पार्दासम्म महानगरपालिकाले ४ वटा घरहरु भत्काइसकेको छ ।

चिल्ड्रेन पार्कको पूर्व तर्फ बनाइएका अवैध घरहरुमा डोजर चलाइएको वीरगञ्ज महानगरपालिका सरसफाइ व्यवस्थापन महाशाखाका प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिए । पोखरीको जमिन अतिक्रमण गरेर विभिन्न संरचना बनेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

यसअघि पोखरीको जग्गा अतिक्रमण गरी बनाइएका संरचनाको निस्सा पेश गर्न महानगरले सम्बन्धित व्यक्तिहरुलाई आग्रह गरेको थियो । प्रमाण देखाउन नसकेकाहरुको संरचना भत्काउने महानगरको तयारी छ ।

१५ कात्तिकमा दुई दिन भित्र निस्सा पेश गर्न आग्रह गर्दै महानगरले पत्र काटेको थियो ।०२२ सालको नापीमा पोखरी ४ विघा १३ कठ्ठा क्षेत्रफलमा फैलिएको देखिएको छ । अतिक्रमण गरी निजी भवन, अस्पताल बनाउन थालेपछि पोखरी १८ कट्ठामा मात्रै सीमित बनेको छ । पोखरीको बचेको जग्गामा ‘चिल्ड्रेन पार्क’ बनाइएको छ ।


सम्बन्धित समाचार