Logo

फाइल तस्बिर

२० फागुन, वीरगञ्ज । मौसममा परिवर्तन आएसँगै सर्लाहीमा सर्पको विगविगी बढ्न थालेको छ । गर्मीमा सल्बलाउने सर्पले ग्रामीण बासिन्दालाई डस्न थालेको हो ।

गत बिहीबार सर्पको डसाइपछि उपचारको खोजीमा केन्द्रमा आउनुभएका ईश्वरपुर नगरपालिका–९ का सजन शर्मालाई उपचारपछि घर फर्काइएको लालबन्दी नगरपालिका–१ नेत्रगञ्जस्थित सर्पदंश उपचार केन्द्रले जनाएको छ । यस्तै फागुन–१५ गते हरिवन नगरपालिका–१ का बसु गतौलालाई सर्पदंशको सफल उपचारपछि घर फर्काइएको थियो ।

मौसममा विस्तारै आएको परिवर्तनसँगै सर्पको डसाइबाट बिरामी बढ्न थालेका स्वास्थ्य सहायक अनिल कुशवाहले जानकारी दिनुभयो । उहाँका अनुसार सर्पको डसाईबाट घाइते भएका बिरामी समयमै उपचारका लागि केन्द्रसम्म आए शतप्रतिशत सकुशल घर फर्किने गरेका छन् । आव २०७९–८० को वैशाख–असारमा दुई सय ७३, साउन–असोजमा ८८ र कात्तिक–पुस महिनामा ५३ सर्पको डसाइबाट पीडित बनेका बिरामीलाई उपचार सेवा दिइएको केन्द्रका अहेव प्रभु पण्डितले जानकारी दिनुभयो ।

उहाँले माघ महिनामा चार र फागुन महिनाको हालसम्म पाँच जनालाई केन्द्रले उपचार सेवा प्रदान गरेको बताउनुभयो । उहाँका अनुसार आव २०७०–०७१ मा एक जना बच्चा र २०६३–०६४ मा एक महिलाको केन्द्रमा उपचारका क्रममा मृत्यु भएको थियो । उनीहरू उपचारका लागि ढिलो आएका थिए ।

तथ्याङ्कअनुसार जाडो मौसममा भन्दा गर्मीयाममा सर्पदंशका घटना बढी हुने गरेको छ । मौसम तातिएसँगै सल्बलाउने सबै सर्प विषालु नहुने कुरा केन्द्रका स्वास्थ्य सहायक जगरनाथ यादवले बताउनुभयो । चुरे पर्वत फेदी तथा भावर क्षेत्र र तराईका फाँटमा पाइने गनग्वारी गोमन, राजगोमन, कमन करेट, पनिया, राज, ह्यौ, बाँघे, तिरिसेजस्ता सर्प विषालु हुन्छन् ।

सिरिसे, सुगीया, इन्द्रेनी र उड्ने सर्प कम विषालु हुन्छन् भने डोरिया, हरहरा, तेलियाँ, धामनलगायत तराईमा पाइने १४ जातका सर्प विषालु नहुने बताइएको छ । गर्मी मौसममा सर्पको डसाइको जोखिम धेरै हुने भएकाले अँध्यारोमा टर्चलाइट, घाँस दाउरा गर्दा विशेष सावधानी अपनाउनुपर्ने उपचार केन्द्रका स्वास्थ्य सहायक कुशवाहको भनाइ छ ।


सम्बन्धित समाचार