२० फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सत्तारुढ गठबन्धन निकटका विद्यार्थी सङ्गठनले सहकार्य गर्ने भएका छन् ।
स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन लगायतका सत्तारुढ गठबन्धन दलका भातृसङ्गठनबीच सहकार्य गरेर जाने सहमति भएको अनेरास्वयिु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।
उनले विद्यार्थी आन्दोलन जोगाउन आठ विद्यार्थी सङ्गठन सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको बताइन् ।
यही फागुन १९ गते स्ववियु निर्वाचनका लागि विद्यार्थी सङ्गठनले क्याम्पसमा नाम दर्ता गराएका छन् । ती विद्यार्थी सङ्गठनले छुट्टाछुट्टै सङ्गठनको नाम दर्ता गराएका हुन् ।
आगामी चैत ५ गते देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुँदैछ । कार्यतालिकाअनुसार यही फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गरिनेछ । यस्तै स्ववियु निर्वाचन चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि तोकिएको तोकिएको छ ।