Logo

२१ फागुन,वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको सङख्यामा वृद्धि आएको छ । निकुञ्जले प्राकृतिक रुपमा कृत्रिम निर्माण गरिएका पोखरीमा पानी उपलब्ध भएसँगै वन्यजन्तुको सङख्यामा वृद्धि आएको हो ।

सन् २०२२ मा भएको राष्ट्रिय बाघ गणनामा पर्सा राष्ट्रिय निकुञ्ज भित्र दुर्लभ पाटे बाघको सङ्ख्या हाल ४१ वटा पुगेको छ । त्यसैगरी पर्सा निकुञ्जभित्र १ सय ६३ वटा गौरीगाई, ४० देखि ५० वटा जङ्गली हात्ती र ८ देखि १० वटाको सङ्ख्यामा एकसिंगे गैँडा रहेपनि तथ्याङ्कमा ३ वटा गैँडा मात्रै उल्लेख भएको निकुञ्जले जनाएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको सङ्ख्या बढ्नको मुख्य कारण पानीको उपलब्धता नै रहेको निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले जानकारी दिनुभयो । निकुञ्जभित्र सबै प्रजातिका वन्यजन्तुको सङ्ख्या तथा वासस्थान फैलँदै गएको उहाँको भनाई छ ।

निकुञ्जभित्र दुर्लभ पाटे बाघ, भालु, गैँडा, हात्ती, चित्तल, जरायो, चितुवा, जङ्गली कुकुर, नीलगाई र गौरीगाई जस्ता ३७ प्रजातिका स्तनधारी जनावर, चार सय ९० प्रजातिका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतलीहरूको वासस्थान छ ।

निकुञ्जका रेन्जर हिमाल पाठकले प्राकृतिक र कृत्रिम रूपमा भएका पानीको स्रोतहरूलाई संरक्षण तथा व्यवस्थापनको काम गरिएको बताउनुभयो ।

उहाँले पानीको व्यवस्थापन भएपछि घाँसे मैदान समेत फैलँदै गएको र यसले पर्यटन प्रवर्द्धनमा समेत टेवा पु¥याएको बताउनुभयो । करिब १६ हजार हेक्टर क्षेत्रफलमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्ज नेपालमा पाइने रैथाने हात्तीको वासस्थान संरक्षण गर्ने उद्देश्यले २०४० सालमा बारा, पर्सा र मकवानपुरसँग सीमा जोडिएको जङ्गल क्षेत्रलाई समेटेर बनाइएको हो ।


सम्बन्धित समाचार