Logo

२१ फागुन,वीरगञ्ज । वीरगञ्ज स्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) निजी क्षेत्रले सञ्चालन गर्ने भएको छ । ५ वर्षका लागि कैलाश टर्मीनल जेभीले १ अर्ब ८० करोड ९० लाख १ हजार २ सय रुपैयाँमा ठेक्का सकार गरेसँगै सञ्चालन हुने भएको हो ।

आइसीपी सञ्चालन एवं व्यवस्थापन गर्दै आएको इन्टर मोडल यातायात विकास समितिले सम्झौता हुन भने बाँकी रहेको जनाएको छ । सम्झौता पछि सन २०२३ कै अप्रील १ तारिखदेखि कम्पनीले सेवा प्रवाहको जिम्मा दिनेगरि आन्तरिक तयारी गरिरहेको छ ।

टर्मीनल व्यवस्थापनका लागि छनौट भएको कम्पनीले टर्मीनलको सञ्चालन, आयात तथा निर्यातका मालबस्तुहरुको ओसारप्रसार, भण्डारण, रेखदेख, मर्मत सम्भार, पूर्वाधार निर्माण, टर्मीनल भित्र रहेका मेशिनरी औजार, उपकरण, ढुवानी साधन आदिको व्यवस्थापन लगायतका काम गर्नुपर्नेछ ।

टेन्डर आव्हान गर्दा आइसीपी सञ्चालन गर्छु भनी आएका ५ वटा कम्पनी मध्ये कैलाशलाई सञ्चालनका लागि अनुमति दिन लागेको हो । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले ‘गुणस्तर लागत आधार मुल्यांकन विधिबाट कम्पनी छनौट गर्दा कैलाश उत्कृष्ट देखिएको जानकारी दिनुभयो । कम्पनी छनोट गर्दा इन्टर मोडल यातायात विकास समितिको ‘पट्टा बहाल दिने सम्बन्धी नियमावली–२०७०’ मा उल्लेखित विधि अपनाइएको उहाँको दावी छ ।

निजी क्षेत्रले अनुभव समेतको प्रयोग गरेर चुस्त दुरुस्त सेवा प्रवाह गर्ने उहाँले विश्वास लिनुभएको छ । वीरगन्ज आईसीपीको व्यापार बढेमा ठेकेदार कम्पनीले थप रकम समितिलाई दिनुपर्ने प्रावधान राखेर सम्झौता गर्ने तयारी भईरहेको छ ।

 


सम्बन्धित समाचार