Logo

२२ फागुन,वीरगञ्ज । वीरगञ्जका पत्रकार महिलाले क्षमता अभिवृद्धिसँगै प्रोत्साहनका विभिन्न कार्यक्रम ल्याउन माग गरेका छन् । महिला भएकै कारण अझैपनि विभिन्न समस्या भोग्नु परेको बताउँदै उनीहरुले त्यसको समाधानका लागि नेपाल पत्रकार महासंघले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

११३ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा मध्य नेपाल सन्देश प्रा.लि.ले नेपाल पत्रकार महासंघको सभाहलमा ‘सञ्चारमा पत्रकार महिला’ विषयक अन्तक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

लैंगिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा सहभागी महिला पत्रकारले समान सहभागिता आजको आवश्यकता भएको बताए ।

मध्य नेपाल सन्देश साप्ताहिकको सम्पादक कविता खड्काले पत्रकार महिलाको दक्षता अभिवृद्धिका लागि नेपाल पत्रकार महासंघले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । पत्रकार महिलाको रुपमा नभई पत्रकारकै रुपमा व्यवहार गरिनुपर्ने उहाँको भनाई थियो । सरकारी कार्यालयमा महिला मैत्री शौचालय समेत नहुने गरेको बताउँदै उहाँले रिपोर्टिङमा जाँदा महिला भएकै कारणले धेरै समस्याको सामना गर्नुपरिरहेको बताउनुभयो ।

पत्रकार माधुरी महतोले पत्रकारितामा महिला सहभागिताको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । पत्रकार लक्ष्मी खरेलले वीरगञ्ज पत्रकार महिलाले राष्ट्रिय स्तरमा पहिचान बनाउन सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष अनुप तिवारीले निराश हुुनुपर्ने अवस्था नरहेको बताउनुभयो ।

दक्षता भएन भने पुरूष पनि स्थापित नहुने बताउँदै उहाँले दक्षता अभिवृद्धिमा ध्यान दिन आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव श्याम बञ्जाराले हिनताबोधबाट माथी उठ्न आग्रह गर्दै अगाडी बढ्न रोक्नेलाई नंग्याउनुपर्नेमा जोड दिनुभयो ।

वीरगञ्ज महानगरपालिका मेयर राजेशमान सिंहको प्रेस सल्लाहकार महेश दासले तत्काल र दिर्घकालमा गर्न सक्ने कामको योजना बनाएर पेश गर्न आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघका सचिव दिपेन्द्र चौहानले नेतृत्व खोसेर लिन सक्ने क्षमता बनाउन सुझाव दिनुभयो ।


सम्बन्धित समाचार