Logo

२२ फागुन,वीरगञ्ज । वीरगञ्ज कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउन काम गरिरहेको राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिकहरुले त्यहाँबाट कृषि औजार उत्पादन सुरु गरेका छन् । भग्नावशेषमा परिणत कम्पनीको पुरानो मेसिनहरु मर्मत गरेर परीक्षण गर्दा पराम्परागत कृषि औजारहरु उत्पादन भएको राष्ट्रिय आविष्कार केन्द्रले जनाएको छ ।

केही दिनदेखि नियमित गरिएको परीक्षणका क्रममा साबेल, गैंती, कुटो, कोदालो, बञ्चरो, कोदालो जस्ता उपकरणहरु बनेको केन्द्रका प्रमुख महावीर पुनले बताउनुभयो । उहाँका अनुसार ८÷१० थानका दरले ती उपकरणहरु उत्पादन भएका हुन् ।

यो उत्पादनको अर्थ कृषि सामग्री कम्पनी सञ्चालन गर्न सकिने र यसबाट कृषिका लागि चाहिने आधारभूत कृषि औजार निर्माण गर्न सकिने देखिएको पुनले बताउनुभयो । अहिले केन्द्रमा १२ जना प्राविधिकले दैनिक काम गरिरहेका छन् ।

भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले कृषि औजार कारखाना आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सोहीअनुसार ११ असोज, २०७९ मा सरकारले कृषि औजार कारखाना १० वर्षका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिने सम्झौतामा अर्थ मन्त्रालय र केन्द्रबीच सम्झौता भएको थियो ।

अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच भएको सम्झौताअनुसार केन्द्रलाई कारखाना पुनः सञ्चालनमा ल्याउने जिम्मेवारी छ । केन्द्रकाअनुसार सरकारले अहिले दिने भनेको २० करोड रुपैयाँ भने अहिलेसम्म पाएको छैन । सरकार र मन्त्रीहरु फेरिएको. र आफूहरुले पनि थप फ्लोअप गर्न नपाएको पुनले बताउनुभयो ।


सम्बन्धित समाचार