Logo

२२ फागुन,वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया शुरु भएको छ । आज कार्य समिति सदस्य बन्न इच्छुक उद्योगी व्यवसायीले मनोनयन दर्ता गराएका छन् ।

त्यसक्रममा बस्तुगत संघ तर्फबाट हरि पन्त कार्य समिति सदस्यमा निर्विरोध चयन भएका छन् । बस्तुगत संघ तर्फ १ जना कार्य समिति सदस्य रहेकोमा पन्तको मात्रै उम्मेदवारी परेको वीरगञ्ज उद्योग वाणिज्य संघले जनाएको छ । उद्योग तर्फ १३, वाणिज्य तर्फबाट १६, एशोसियट तर्फबाट ६ र बस्तुगत तर्फबाट १ गरी संघमा ३५ सदस्यीय कार्य समिति रहने प्रावधान छ ।

उद्योगतर्फ १८, वाणिज्य तर्फ २५, एशोसियटतर्फ ८ जना र बस्तुगत तर्फ १ जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन अधिकृत अधिवक्ता बालमुकुन्द खरेलले जानकारी दिनुभयो । २४ गते मनोनयन फिर्ताको कार्यक्रम राखिएको छ, भने ३० गते कार्य समिति सदस्यका लागि निर्वाचन गर्ने तालिका छ ।

कार्य समिति सदस्य चयन भए लगत्तै पदाधिकारी निर्वाचनका लागि कार्य तालिका सार्वजनिक गरिने निर्वाचन अधिकृत खरेलले बताउनुभयो । निर्वाचन मार्फत सबैभन्दा पहिला कार्य समिति सदस्य चयन गरिन्छ । कार्य समिति सदस्यहरु मध्येबाटै ११ जना पदाधिकारी चुन्ने वैधानिक व्यवस्था संघको छ । भने निवर्तमान अध्यक्ष पनि पदेन पदाधिकारी हुन्छन् ।

पदाधिकारी तर्फ १ जना अध्यक्ष, बरिष्ठ उपाध्यक्ष सहित ३ जना उपाध्यक्ष, महासचिव १ जना, सचिव र सह सचिव २÷२ जना, कोषाध्यक्ष र सह कोषाध्यक्ष १÷१ जना चयन गरिन्छ । कार्य समितिले रोजगारदाता संयोजक चयन गर्ने र उहाँ नै पदेन उपाध्यक्ष हुनेछन् ।

 


सम्बन्धित समाचार