Logo

२४ फागुन, काठमाडौं। बिहीबार हुने राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको छ। निर्वाचन आयोगका अनुसार बिहीबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुने राष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको हो।नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा दुई वटा मतदान केन्द्र बनाइएको छ।

राष्ट्रपति पदको निर्वाचनमा संघीय संसदका सदस्य र प्रदेशसभा सदस्य मतदाता रहने भएकाले उनीहरुलाई छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ।राष्ट्रपतिका लागि कांग्रेस, माओवादी केन्द्रसहित नौ दलको समर्थनमा कांग्रेस नेता रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन्।

राष्ट्रपति चुनावमा सङ्घीय संसद्का तीन सय ३४ मध्ये तीन सय ३१ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता रहेका छन् । सबै सङ्घीय सांसदको मतभार २६ हजार १ सय ४९ र प्रदेशसभा सदस्यको २६ हजार ४ सय गरी कुल मतभार ५२ हजार ५ सय ४९ रहेको छ । राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार २ सय ७५ मतभार ल्याउनुपर्छ । चुनावलाई केन्द्रीत गरी काठमाण्डौमा सुरक्षा सर्तकता उच्च पारिएको छ ।

यसपाली राष्ट्रपति चुनावमा उम्मेदवारको फोटोसहितको मतपत्र प्रयोग हुँदैछ । उम्मेदवारको नाम र फोटोसहितको मतपत्र छपाएर निर्वाचन अधिकृतको कार्यालयमा पठाएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

बिहीबार ४ बजेबाट मत गणना सुरु गर्ने र साँझ ७ बजे मत परिणाम घोषणा गर्ने आयोगको तयारी छ।

 


सम्बन्धित समाचार