Logo

२४ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघको कार्य समिति सदस्यका लागि निर्वाचन गर्नु नपर्ने भएको छ । संघका चार क्षेत्र मध्ये तीन क्षेत्रका केहि व्यक्तिले आज उम्मेदवारी फिर्ता लिएपछि निर्वाचन गर्नु नपर्ने भएको हो ।

सोमबार मनोनयन दर्ता गराउँदा एफिलिएट (वस्तुगत) तर्फ बाहेक अन्य क्षेत्रमा आवश्यक संख्या भन्दा बढी उद्योगी व्यवसायीले कार्य समिति सदस्य बन्न इच्छा देखाएका थिए । उद्योग तर्फ १३ पदका लागि १८, वाणिज्य तर्फबाट १५ पदका लागि २५, एशोसियट तर्फबाट ६ पदका लागि ८ जनाको उम्मेदवारी परेको थियो ।

एफिलिएट अर्थात बस्तुगत तर्फबाट १ पदका लागि बुद्धि प्रसाद पन्त (हरि) को मात्रै उम्मेदवारी परेको थियो । चार वटै क्षेत्रमा आवश्यक पद संख्या र उम्मेदवारी संख्या बराबर हुनेगरि बाँकीले उम्मेदवारी फिर्ता लिएकोले फागुन २९ गते कार्य समिति सदस्यका लागि निर्वाचन गर्नु नपर्ने भएको मुख्य निर्वाचन अधिकृत बालमुकुन्द खरेलले जानकारी दिनुभयो ।

अब पदाधिकारी निर्वाचनका लागि कार्य तालिका सार्वजनिक गरिने निर्वाचन अधिकृत खरेलले बताउनुभयो । वीरगञ्ज उद्योग वाणिज्य संघमा सबैभन्दा पहिला कार्य समिति सदस्य चयन गरिन्छ ।

कार्य समिति सदस्यहरु मध्येबाटै ११ जना पदाधिकारी चुन्ने व्यवस्था संघको विधानमा छ । निवर्तमान अध्यक्ष स्वतः पदेन पदाधिकारी हुन्छन् । पदाधिकारी तर्फ १ जना अध्यक्ष, बरिष्ठ उपाध्यक्ष सहित ३ जना उपाध्यक्ष, महासचिव १ जना, सचिव र सह सचिव २÷२ जना, कोषाध्यक्ष र सह कोषाध्यक्ष १÷१ जना चयन गरिन्छ । कार्य समितिले रोजगारदाता संयोजक चयन गर्ने र उनी नै पदेन उपाध्यक्ष हुने संघको विधानमा व्यवस्था छ ।


सम्बन्धित समाचार