Logo

२४ फागुन, वीरगञ्ज । होली पर्वमा अमर्यादित र उछृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले पर्साबाट २८ जनालाई नियन्त्रणमा लिएको छ । होली पर्व शान्तिपूर्ण एवं मर्यादित ढंगले मनाउनुपर्नेमा त्यसको विपरित गतिविधि गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिईएको हो । होली पर्वको नामा उछृङ्खल गतिविधि गरेर शान्ति सुव्यवस्थामा खलल पु¥याउने कार्यमा संलग्न २८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीसँगको सहकार्यमा प्रहरीले आजपनि चेकजाँच र गस्ती बढाएको छ । त्यसक्रममा सवारी नियम उलंघन गरेर चलाईएका १ सय ५३ वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरी समेतको सहभागितामा २६ ठाउँमा सवारी साधन चेकजाँच गरिरहेको छ भने ६६ स्थानमा पिकेट ड्युटी खटाईएको प्रहरीले जनाएको छ ।

होली पर्व दुर्घटना रहित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यले चेकजाँच र गस्ती बढाईएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । ट्राफिक प्रहरीसँगको समन्वयमा मादक पदार्थ सेवन गरेर गाडी चलाउने, तीव्र गतिमा गाडी चलाउने, मोटरसाइकलमा ३ जना सवार हुने, हेलमेट नलगाउनेलाई नियन्त्रणमा लिएर कारबाही गरिने उहाँको भनाई छ ।

त्यस्तै गाडीको प्रयोग गरी रङ्ग, लोला हान्ने, अभद्र व्यवहार गर्नेलाई पक्राउ गरिने प्रहरीको भनाई छ । लागुपदार्थ खाएर गाडी चलाउने, लापरबाहीका साथ गाडी चलाउने लगायत विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्नेलाई धमाधम पक्राउ गरिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक गिरीको भनाई छ ।

होली पर्वमा प्रहरीले विशेष सुरक्षा योजना बनाएर शान्ति सुव्यवस्था कायम गरिरहेको छ । होलीलाई मर्यादित, व्यवस्थित र शान्तिपूर्ण बनाउन जिल्लामा ६ सय ८७ जना प्रहरी परिचालन गरिएको छ ।

सरप्राईज चेकिङसँगै क्युआरटी मोटरसाईकल, मोबाईल टोलीहरु नियमित गस्तीमा छन् । सिसिटीभी भएका ठाउँमा त्यसैबाट निगरानी गर्नुको साथै सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आज विशेष रुपमा होली मनाईने भएकोले त्यसै अनुसार सुरक्षा व्यवस्था मिलाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार