Logo

२६ फागुन,काठमाण्डौ । दार्चुलाको त्रिदेशीय सीमा क्षेत्रमा पर्ने व्यास गाउँपालिकाले खाद्यान्न अभाव भएको जनाएको छ । गाउँपालिकाका विभिन्न क्षेत्रमा खाद्यान्न अभाव भएको भन्दै पालिकाले सूचना निकालेर आवश्यक व्यवस्था गरिदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलालाई आग्रह गरेको हो ।

गाउँपालिकाको वडा नम्बर–४ सुन्सेरा डिपो, वडा नम्बर–२ राप्ला वितरण केन्द्र तथा वडा नम्बर–३ को सिना, वडा नम्बर–५ को धौलाकोट र वडा नम्बर–६ को हुती क्षेत्रमा खाद्यान्न ढुवानीको व्यवस्था गरिदिन गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलालाई आग्रह गरेको छ ।

सडकको पहुँच नहुँदा व्यासको माथिल्लो क्षेत्रमा अहिले खाद्यान्न अभाव हुन थालेको व्यास गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह कुँवरले जानकारी दिनुभयो । तत्काल खाद्यान्न आपूर्ति हुन नसके व्यास क्षेत्रमा खाद्यसङ्कट हुने देखिएको उहाँको भनाइ छ ।

भौगोलिक विकटता, हिमपात हुने तथा नेपालतर्फ खाद्यान्नको ढुवानीको वैकल्पिक सडक बाटो समेत नभएकाले खाद्यान्नको अभाव हुने देखिएको गाउँपालिका उपाध्यक्ष विनोदसिंह कुँवरले बताउनुभयो । उहाँले सम्बन्धित क्षेत्रका नागरिकलाई पर्न सक्ने कठिनाइमा गम्भीर हुन पनि जिम्मेवार निकायलाई अनुरोध गर्नुभएको छ ।

खेतबारीको उत्पादनले तीन महिनासम्म खान नपुग्ने स्थानीय बासिन्दालाई नेपाल र भारत दुवै ठाउँबाट खाद्यवस्तु ल्याउन समस्या छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलाका प्रमुख रामसागर मेहताले सुन्सेरा र सिनाको लागि चामल पुर्याउन धनगढीबाट दार्चुला ल्याउने पहल भइरहेको बताउनुभएको छ ।


सम्बन्धित समाचार