Logo

२६ फागुन,वीरगञ्ज । वीरगञ्जका उद्योगीले पर्सा–बारा क्षेत्रमा नियमित विद्युत आपूर्ति गर्न माग गरेका छन् । केहि दिनदेखि पर्सा–बारा औद्योगिक क्षेत्रमा अनियमित विद्युत कटौतीको समस्या देखिएपछि उनीहरुले त्यस्तो माग गरेका हुन् । उद्योगहरुमा विद्युत ट्रिपिङ्ग हुने, अघोषित रुपमा घण्टौं विद्युत नआउने समस्या देखिएको उनीहरुको भनाई छ ।

जसले गर्दा उद्योग प्रतिष्ठानहरु पूर्ण क्षमता सञ्चालन हुन नपाएको, औद्योगिक कच्चा पदार्थ नोक्सान भईरहेको, उत्पादनको गुणस्तरमा ह्रास आईरहेको उनीहरुको भनाई छ । उद्योगी व्यवसायीहरुको प्रतिनीधित्व गर्ने छाता संस्था वीरगञ्ज उद्योग वाणिज्य संघले गुणस्तरीय विद्युत आपूर्तिको अभावमा उद्योगको उत्पादन घट्ने, मेशिनरी पार्ट पुर्जामा टुटफुट बढी आउने आदि समस्याहरु आइरहेका जनाएको छ ।

संघका अध्यक्ष सुवोध गुप्ताले आज विज्ञप्ती जारी गर्दै समस्या समाधान गरिदिन विद्युत प्राधिकरणसँग अनुरोध गर्नुभयो । अध्यक्ष गुप्ताद्वारा जारी विज्ञप्तीमा विद्युत प्राधिकरणले माग अनुसार विद्युत आपूर्ति गर्न नसक्ने भएमा निश्चित क्षेत्रमा लोडसेडिङ्ग गरी अन्य क्षेत्रमा गुणस्तरीय विद्युत आपूर्ति गर्ने व्यवस्था मिलाई दिन आग्रह गरेका छन् । तालिका आउँदा उद्योगीहरुले सोही अनुसार उत्पादनको तालिका बनाई उद्योग सञ्चालन गर्न सक्ने उनको भनाई छ ।

विद्युत आपूर्तिको चरम अभाव हुँदा झण्डै १२ घण्टा सम्मको लोडसेडिङ्ग खेपेका उद्योग प्रतिष्ठानहरु विद्युतको सहज र निर्वाध उपलब्धताका कारण पूर्ण क्षमतामा सञ्चालन भइरहेका थिए भने पर्याप्त विद्युत उपलब्धताबाट आम जनताहरुको दैनिकी समेत सहज बनेको थियो ।

बल्ल तल्ल लयमा फर्किन थालेका उद्योग प्रतिष्ठानहरु पुनः स्तरीय विद्युत आपूर्तिको अभावमा थला पर्न थालेको उद्योगी व्यवसायीको तर्क छ । आवश्यक मात्रामा विद्युत आपूर्ति नहुँदा उत्पादनको लागत बढन जाने हुँदा उपभोक्ता माथि नै आर्थिक भार बढ्ने वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतमले बताउनुभयो ।

 


सम्बन्धित समाचार