२७ फागुन,काठमाडौँ । नेकपा (एमाले)ले पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो ।
उहाँले गाउँपालिका, नगरपालिकादेखि नै अध्यक्ष÷उपाध्यक्ष, प्रमुख÷उपप्रमुखमध्ये एक जना महिला अघि सारेको सन्दर्भलाई लिएर राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एकजना महिला हुनुपर्ने कुरालाई अन्देखा गर्न नमिल्ने जानकारी दिनुभयो ।
उपमहासचिव ज्ञवालीले पुरुषलाई नै दुई वटै पदमा उठाउने कुरा संविधान विपरितको कुरा भएको बताउनुभयो ।उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘‘यो बैठक एउटा मात्रै एजेण्डामा केन्द्रित थियो ।
चैत्र ३ गते हुने उपराष्ट्रपतिका लागि पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेका छौँ । हामीले तल गाउँपालिका, नगरपालिकादेखि नै अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुखमध्ये एक जना महिला अघि सारेका छौँ ।
पुरुषलाई नै दुई वटैमा उठाउने कुरा संविधानविपरितको कुरा हो । त्यसो गर्न मिल्दैन ।’’ उपराष्ट्रपति पदका लागि आज (शनिबार) निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय दिएको छ ।