२९ फागुन, वीरगञ्ज । पढेलेखेका युवाको सफलता जागीरमा नै सिमित रहेको देखिन पाइन्छ अनि हामी कल्पना गरिरहेका छौ आर्थिक समृद्धिको । हामी स्टार्टअपको कुरा गर्दैनौं , हामी युवा उधमीको कुरा गर्दैनौं र हाम्रो समाजमा यसको चर्चा परिचर्चा पनि हुदैन । हामी र हाम्रो राष्ट्रको विकास आर्थिक विकासमा निर्भर हुन्छ र आर्थिक विकास उद्यमशीलतामा निर्भर रहन्छ । उद्यमशीलताले देशमा बेरोजगार युवाको सहयोग भएर रोजगार सिर्जना गर्छ ।
“समृद्धि सबैले चाहेको विषय हो भने समृद्धिको मूल आधार आर्थिक विकास हो र आर्थिक बिकास गर्नका लागी जागीरे मानसिकता बाट टाढा बस्नुपर्छ ।”
विश्वमा कोरोनापछि अर्थतन्त्र असर पुर्याइरहेको अवस्थामा नेपालमा धेरैभन्दा धेरै उद्यम गर्ने मानिसको आवश्यकता छ । देशमा उद्यमको विकास हुने हो भने रोजगारी सिर्जना हुन्छ । प्रत्येक व्यक्तिको आयस्तर बढाउँछ । विभिन्न किसिमका उद्योगहरू सञ्चालन हुँदा उद्यमबाट कर उठाउने हुँदा राज्यको आम्दानीमा पनि वृद्धि हुन्छ । नेपालमा उत्पादन हुने बस्तुहरुको अन्य देशमा निर्यात बढाउने सम्भावना बढ्छ, आयात घट्छ, राज्यको व्यापार बढ्छ । व्यक्ति–व्यक्तिमा सीप र दक्षताको विकास हुन्छ । नयाँ नयाँ खोज अनुसन्धान गरेर विज्ञान र प्रविधिसँग जोडेर पनि देशमा उद्यमको विकास गर्न सकिन्छ ।
युवाको ज्ञान परम्परा, खेलकुद, संगीत, गायन, नाट्य, चलचित्र, मूर्तिकला, चित्रकला, कथानक, विज्ञान र प्रविधि, अन्य तह, स्वास्थ्य, जलस्रोत, वातावरण, उद्योग, पूर्वाधार तथा मानव विकास आदि क्षेत्रको सर्वाङ्गीण एवं समष्टिकृत विकासका लागि मौलिक पद्धति, विधि एवं योजनासहित कार्य गर्न सक्नुपर्छ । जल, जमिन र जंगलको मौलिक सभ्यतागत एवं स्थितिगत्यात्मक विधिबाट सदुपयोग गर्न पनि सक्नुपर्छ । विश्वका विकसित देशले उद्यमशीलतालाई महत्त्वपूर्ण स्थान दिएका कारण आजको स्थितिमा पुगेका हुन् । उद्यमीको उद्यमशीलता र लगनशीलताले गर्दा नै आज विश्वका धनी राष्ट्रको अर्थतन्त्रमा बृहत्तर विकास सम्भव भएको छ ।
नेपालको विकास नहुनुको कारण उद्यम गर्ने उद्यमीको कमीको कारणले पछाडि परिरहेका छौं । उद्यमी भनेको नेपाली बृहत् शब्दकोशमा उद्यममा लाग्ने वा लागेको, उद्योग गर्ने, उद्योगी, मेहनती, परिश्रमी अथवा आयआर्जनका लागि गरिने काम पेशा व्यवसाय गर्ने मानिस भनेर उल्लेख गरिएको छ । हामीले नेपाली माटो सुहाउँदो उद्यमशीलता गर्न सकेका छैनौं। के हामीले मौलिकता सहितको उद्यमशीलता गरेका छौं त उतर आउछ, छैनौं।
देशको सामाजिक–आर्थिक अवस्थाले गर्दा युवाहरू उमेर पुग्नेबित्तिकै नागरिकता, राष्ट्रिय परिचयपत्र, तयार पार्ने काममा जुट्न थाल्छन् । सामान्य घरेलु सीप भएका (जस्तै : कृषि, बिजुली, पानीको पाइप, ग्याँसको पाइप, धारा ट्याङ्की आदि वा सो जोड्ने वा मर्मत गर्ने दक्षता भएका युवाहरूलाई सरकारले आवेदन आह्वान गरी स्थानीय सरकारमार्फत रोजगारी उपलब्ध गराउन सक्छ । तर यस्तो कार्य राम्रोसँग योजनाबद्ध देखिएको छैन ।
युवाहरूमा विदेश गएर मनग्य कमाउने, विद्यार्थीहरूमा विदेश गएर कमाउने र उच्च शिक्षा हासिल गर्ने जस्ता अव्यावहारिक लहडले देश युवाविहीन रहन जाने सामाजिक व्यवस्था बढ्दै गइरहेको छ । खाडी र अन्य मुलुकहरूबाट नेपाल पठाइने रेमिटेन्सको रकमबाट देशको अर्थतन्त्र हालसम्म चलायमान छ । ती धेरैजसो विदेश जानेहरूको घरजग्गा धरौटीमा छ । अर्कातर्फ उच्च शिक्षा हासिल गर्ने भनेर बिदेसिने धेरैजसो युवाको विदेशमा विचल्ली अवस्था रहेको पनि देखिन्छ । नेपाल राष्ट्र अधिकोषको एउटा तथ्यांकअनुसार गत पाँच महिनामा विदेश जाने युवा विद्यार्थीहरूले २९ अर्ब रुपैयाँ लगेका छन् । र हामी कल्पना गरिरहेका छौ आर्थिक समृद्धिको ।
युवाहरूबारे लामो समयसम्म कुनै स्पष्ट राष्ट्रिय नीतिको निर्माण नभएकाले नै युवाहरू बिदेसिन बाध्य भएको र जागिरमा नै सिमित भएको बुझिन्छ । सरकारको युवा तथा खेलकुद मन्त्रालयले सन् २०१५ मा राष्ट्रिय युवा नीति प्रकाशनमा ल्याएकै हो । त्यसअघि पनि २००९ मा युवा नीति निर्माण गरिएको थियो । तर, के–कति कारणले गर्दा हो सरकारले युवाहरूमा व्याप्त समस्यालाई सम्बोधन गर्न सकेको देखिन्न । यसतर्फ सरोकारवाला मन्त्रालयले विशेष चासोका साथ मन्त्रिपरिषद्सँग समन्वयात्मक कार्य गरी युवा नीतिको पुनरावलोकन र संशोधनमा अघि बढ्नु जरुरी छ । समृद्धि सबैले चाहेको विषय हो भने समृद्धिको मूल आधार आर्थिक विकास हो । नेपालमा आर्थिक क्षेत्रको विकास नहुनुमा नीतिगत अस्पष्टता र योजना कार्यान्वयन गर्न सक्ने क्षमताको अभाव हो ।
आनन्द साह
युवा उधमी र स्नातकतहमा अध्ययनरत विद्यार्थी हुन्