Logo

३० फागुन, पर्सागढि । बसन्त ऋृतु तथा गर्मी मौसम सुरु भएसँगै पर्साको राष्ट्रिय वनमा डढेलो लाग्ने क्रम बढेको छ । बिगत केहीदिन यता पर्साको राष्ट्रिय वन क्षेत्र अन्तर्गत पर्ने सोलखपुर, सबैया, बडनिहार, रङ्गपुर लगायतका सब डिभिजन वन कार्यालयको वन क्षेत्रमा डढेलो लाग्ने क्रम बढेको हो ।

वन क्षेत्रमा केही दिन देखि डढेलो लाग्दा समेत वनकर्मीहरु मूकदर्शक देखिएको बताईएको छ । वनमा डढेलो लागेकै कारण केही दिनयता वन क्षेत्र नजिक रहेको मानवबस्तीमा समेत बिहानी पख अत्याधिक मात्रामा वन डढेलो लाग्नाले धुवाको कारण तुवाँलो लाग्ने गरेको र मानव स्वास्थ्यमा समेत असर देखिन थालेको छ ।

तुवाँलोको कारण श्वासप्रस्वास सम्बन्धी दीर्घरोगीहरुको स्वास्थ्यमा समस्या देखिनुको साथै आखा पोल्ने तथा पाक्ने क्रम बढेको छ । डिभिजन वन कार्यालय पर्साका वन प्रमुख सुबास चन्द्र दासले जनचेतनाको कमिले वन क्षेत्रमा डढेलो लाग्ने क्रम बढेको बताउनुभयो ।

उहाँले यसलाई रोकथामका लागि कार्यालयले ठाउँठाउँमा जनचेतनामूलक कार्यक्रम संचालन गरेको, वनको फायर क्षेत्रमा सरसफाई गरिएको र वनमा लाग्ने आगो नियन्त्रणका लागि प्रत्येक सब डिभिजन वन कार्यालयमा ३/३ जना कर्मचारी खटाउने तयारी भैरहेको भएपनि बजेट अभावका कारण सो काम रोकिएको बताउनुभयो ।

अब दुई चार दिनमै बजेटको व्यवस्था गरि सो कामको लागि कर्मचारी खटाईने उहाँको भनाई छ ।


सम्बन्धित समाचार