Logo

१ चैत,वीरगञ्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हालका लागि स्थगित गरि साढे २ महिनापछि सारिएको छ । राजनीतिक दल र क्याम्पस प्रशासनबिच भएको सहमति अनुसार चैत ८ मा हुने भनिएको निर्वाचन हालका लागि स्थगित गरि जेठ १३ गतेका लागि सारिएको हो ।

निर्वाचन समितिले दुईदुई पटक प्रकाशन गरेको मतदाता नामावलीको विषयलाई लिएर विद्यार्थी सगंठनहरुले विवाद गरेर क्याम्पसमै आगजनी र तालाबन्दी गरेपछि स्ववियु निर्वाचन साढे २ महिना पछि धकेलिएको हो । देशभरका क्याम्पसमा चैत ५ गते हुने स्ववियु निर्वाचन ठाकुरराम क्याम्पसमा भने चैत ८ गते गर्ने गरि निर्वाचन समितिले गत फागुन २९ गते सार्वजनिक गरेको थियो ।

तर विद्यार्थी संगठनहरुकै विवादका कारण ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचन अब आगामी जेठ १३ गते गर्ने सहमति भएको हो । जिल्ला प्रशासन कार्यालय पर्सामा आज बिहान दोश्रो पटक बसेको सर्वपक्षीय बैठकमा विद्यार्थी संगठनहरुको विवादका कारण चैत ८ गते स्ववियु निर्वाचन गर्न सक्ने अवस्था नभएको र चैत १२ देखि विभिन्न संकायको परिक्षा शुरु हुने भएकाले अब जेठ १३ गते निर्वाचन गर्ने सहमति भएको जनता समाजवादी पार्टीका जिल्ला सचिव तबरेज आलमले जानकारी दिनुभयो ।

नेपाली काँग्रेसका जिल्ला सहसचिव नवीन सिंहले पनि चैत ८ मा स्ववियु निर्वाचन हुन सक्ने परिस्थिती नभएकोले जेठ १३ मा गर्ने सहमति गरिएको बताउनुभयो । सोही सहमति बमोजिम अब निर्वाचन समितिले जेठ १३ मा निर्वाचन गर्ने गरि सूचना जारी गर्ने क्याम्पस प्रमुख डा. उमेश चौरसियाको भनाई छ ।

बैठकमा यसअघि प्रकाशीत मतदाता नामावलीको विषयमा विधार्थी संगठनहरुले जनाएको विरोध र विवाद बारे पनि छलफल भएको भन्दै डा. चौरसियाले त्यसबारे पुन छानबिन गरि अर्को मतदाता नामावली तयार पारिने पनि बताउनुभयो । आज बसेको सर्वपक्षीइ बैठकमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रहरी उपरिक्षक कोमल शाह, क्याम्पस प्रमुख चौरसिया, निर्वाचन अधिकृत रोशन लामिछाने, नेपाली काँग्रेसका जिल्ला सहसचिव नवीन सिंह, जसपाका जिल्ला सचिव तबरेज अहमद, नेकपा एमालेका नेता शीवजी गुप्ता, नेकपा माओवादी केन्द्रका नेता प्रभाकर गुप्ता लगायतको सहभागिता थियो ।

विद्यार्थी संघसंगठनका नेताको भने बैठकमा सहभागीता थिएन । यता निर्वाचन समितिले फागुन २१ र फागुन २९ मा दुईपटक प्रकाशन गरेको मतदाता नामावलीमा फर्जि विधार्थीको समेत नाम समावेश गरिएको भन्दै विधार्थी संघसंगठनले हिजो बिहान क्याम्पसको विभिन्न शाखामा तालाबन्दी गरेका थिए ।

मतदाता नामावली छानबिन गरि निष्पक्ष निर्वाचन गराउनु पर्ने माग गर्दै विद्यार्थी नेताहरु हिजो अपरान्हदेखि क्याम्पसमा अनसनमा पनि बसेका छन् । उनीहरुको अनसन अहिले पनि जारी छ ।


सम्बन्धित समाचार