Logo

२ चैत,वीरगञ्ज । ट्याक्टर चालक अनुमतिपत्रमा कार र मोटरसाइकल थप गर्ने पर्साका पारस साह तुराहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आर्थिक लेनदेन गरी नक्कली लाइसेन्स प्रयोग गरेको पाइएपछि तुरहा लाई पक्राउ गरेको जनाएको छ ।

अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार तुरहाको शरीर खानतलासी गर्दा नक्कली लाइसेन्स फेलापरेको थियो । यातायात व्यवस्था विभागको अभिलेखमा ट्याक्टरको मात्र अनुमतिपत्र रहेको सो लाइसेन्समा तुराहले कसरी अन्य समूह थपे भन्नेबारे अनुसन्धान भइरहेको राठौरले जानकारी दिनुभयो ।

प्रहरीसँगको प्रारम्भिक बयानमा तुराहले ४२ हजार रुपियाँ दिएर ‘ए’ र ‘बी’ समूह अर्थात् मोटरसाइकल र कार तथा भ्यान चालकको अनुमति थपेको स्वीकारेका छन् । यातायात व्यवस्था विभाग काठमाडौँबाट जारी उक्त लाइसेन्समा आर्थिक लेनदेन गरी कसले समूह थप्यो भन्नेबारे अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।
यातायात व्यवस्था विभागमाथि बिचौलिया प्रयोग गरी लेनदेनमा नक्कली लाइसेन्स वितरण गर्ने गरेको आरोप लाग्दै आएको छ ।

तुरहाले प्रयोग गरेजस्ता कति लाइसेन्स वितरण भएका छन् भन्नेबारे समेत अनुसन्धान भइरहेको राठौरले जानकारी दिनुभयो ।
पक्राउ परेका तुराहलाई लिखतसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार